जीडब्ल्युएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य कति ?

जीडब्ल्युएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य कति ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (ग्रेट वाल मोटर) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओरा ५ ईभी’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले काठमाडौँमा आयोजित एक विशेष समारोहबीच यो नयाँ गाडी सार्वजनिक गरेको हो। चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्त्वपूर्ण बजारका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ।

‘डिजाइन विथ इन्टेलिजेन्स, शेप्ड बाइ एलेग्यान्स’ अवधारणामा आधारित यो प्रिमियम इलेक्ट्रिक एसयूभीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा विभिन्न आरामदायी सुविधाहरू समावेश गरिएका छन्। नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर ल्याइएको यो गाडीले बजारमा सुरक्षित, स्मार्ट र दिगो मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

नेपाली बजारमा ओरा ५ ईभी दुईवटा भेरियन्टमा उपलब्ध गराइएको छ। कम्पनीले तोकेको प्रारम्भिक मूल्यअनुसार यसको मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यस गाडीको मुख्य विशेषता भनेकै यो एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन सक्षम हुनु हो।

यसका साथै गाडीमा २०० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।

सुरक्षाका दृष्टिकोणले समेत ओरा ५ ईभी निकै बलियो रहेको छ, जसले बहुप्रतिष्ठित ५–स्टार एएनक्याप र ५–स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ। यस गाडीमा सुरक्षाका लागि २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचरहरू दिइएका छन्, जसमा लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल र ट्राफिक साइन रिकग्निसन जस्ता महत्त्वपूर्ण प्रविधिहरू समावेश छन्।

विश्वका १७० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको र हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जीडब्लुएम ब्रान्डको यो नयाँ मोडलले नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

Logo