काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ चुक्ता पूँजीको आधारमा हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको जनाएको छ। हाल कायम प्रति शेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण शेयरमध्ये प्रत्येक दुई कित्ता शेयर बराबर एक कित्ता (२ः१) हकप्रद शेयर जारी गरिनेछ।
यसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण शेयर विद्यमान शेयरधनीहरूका लागि निष्काशन गर्नेछ। बैंकका अनुसार आवश्यक नियामकीय स्वीकृति तथा अन्य प्रक्रिया पूरा भएपछि हकप्रद शेयर निष्काशन गरिनेछ।
बैंकले हकप्रद शेयरबाट संकलन हुने रकम पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा दीर्घकालीन व्यावसायिक विस्तार र रणनीतिक योजना कार्यान्वयनमा परिचालन गर्ने जनाएको छ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।





























प्रतिक्रिया