फिफा विश्वकप २०२६ : दोस्रो चरणको समाप्तिमा ६ उत्कृष्ट मोड

फिफा विश्वकप २०२६ : दोस्रो चरणको समाप्तिमा ६ उत्कृष्ट मोड

केन्द्रबिन्दु
21
Shares

मियामी । फिफा विश्वकप २०२६ को सनसनीमा पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डो पनि जोडिएका छन् । त्यसअघि अर्जेन्टिनी लियोनल मेसीले गोलको नयाँ कीर्तिमान बनाएर सबै ख्याति आफैंले मात्र कमाउने छाँट देखाएका थिए ।

यसबीच इरानले पनि आफ्नो मजबुत संघर्ष गर्न सक्ने क्षमता देखाएको छ अनि टर्की जत्तिको टिम साह्रै नमज्जासँग प्रतियोगिताबाट बाहिरिएको छ । विश्वकप २०२६ को लिग चरणमा प्रत्येक टिमले समान दुई खेल खेल्दा ती सबै कुनै नाटकभन्दा कम रहेन ।

रोनाल्डोको पुनरागमन

यस विश्वकपमा अपेक्षा गरिएका प्रमुख केही स्टार सुरुआतमै चम्किए । अरू ठूला स्टारले आफ्नो उत्कृष्ट प्रदर्शन गरेकै बेला क्रिस्टियानो रोनाल्डोको प्रदर्शन चुपचाप जस्तै रह्यो । तर प्रतियोगितामा पुनरागमन रच्न ४१ वर्षीय खेलाडीका लागि उज्वेकिस्तानको एक खेल पर्याप्त रह्यो । उनले त्यस खेलमा दुई गोल पनि गरेर आफूमा अझै केही क्षमता छ भन्ने देखाए ।

मेसीले जोगाएर राखेको लय

लियोनल मेसीले बुधबार नै आफ्नो ३९ औं जन्मदिन मनाउने छन् । उनका लागि यो त अंकको एउटा खेल मात्रै हुन सक्छ, किनभने सायद आधुनिक फुटबलका महान खेलाडीमध्ये सबैभन्दा अगाडि आउने मेसीले यसपल्टको विश्वकपकै लागि भने आफ्नो उत्कृष्ट लय जोगाएर राखे जस्तै देखिएको छ । उनले दुई खेलमा गरेको ५ गोलले सबथोक बयान गरिरहेको छ ।

होडमा एमबाप्पे र हालान्ड

लिग चरणको दोस्रो खेलक्रममा अर्जेन्टिना मात्र होइन, फ्रान्स र नर्वेको खेल पनि एकै दिन जुरेको थियो । यस क्रममा मेसीमात्र लयमा देखिएनन् फ्रान्सका लागि केलियन एमबाप्पे र नर्वेका लागि इर्लिङ हालान्ड पनि चम्किए । मेसीले सुरु गरेको सनसनीलाई एमबाप्पेले अगाडि बढाए अनि हालान्डले त्यसलाई नयाँ उचाइ दिए । अबको दिनमा मेसी र रोनाल्डोपछि आफ्नो उत्कृष्टता देखाउने यिनै एमबाप्पे र हालान्ड नै त हुन् ।

नर्वेको लोभलाग्दो खुसी मनाउने शैली

नर्वे ३२ वर्षपछि पहिलो पटक विश्वकपमा खेलिरहेको छ र यसक्रम नकआउट चरणमा प्रवेश निश्चित भएपछि टोलीले मनाएको खुसीयालीले पनि सबैको नजर आकर्षित गरेको छ । नर्वेले लगातार दोस्रो जित हात पारेपछि कप्तान मार्टिन ओडेगार्डले ड्रम बजाए अनि अन्य साथी खेलाडीले डुंगा खियाएको नक्कल गरे । तिनका समर्थक मात्र के कम र ? दर्शकदीर्घाबाट पनि उनीहरूले यसरी नै लोभलाग्दो खुसीयाली मनाए ।

भ्यानकोभरमा छताछुल्ल इजिप्टको खुसी

विश्वास नहुन सक्छ, विश्वकपमा एउटा जितका लागि इजिप्टले ९२ वर्ष कुर्नुपरेको थियो । जतिबेला इजिप्टले पहिलो ऐतिहासिक पहिलो जितका लागि न्युजिल्यान्डलाई हरायो । तिनका खेलाडीको खुसी हेरिनसक्नु रह्यो । यसक्रममा खेलाडीले भ्यान्कोभरको सडक–सडकमै समर्थकसँग खुसी साटे । यसबीच सबैको मन चोर्न सफल खेलाडी रहे, मोहम्मद सलाह । उनी सबैको आकर्षणको केन्द्रमा रहेका थिए ।

एसियालीमध्ये जापान नै अब्बल

यो विश्वकपमा कुनै एसियाली देशले आफूलाई अब्बल साबित गरेको छ भने त्यो जापान मात्रै हो । जापानले सुरुमा नेदरल्यान्ड्सविरुद्ध पुनरागमन बराबरी रच्यो भने पछि ट्युनिसिया जस्तो बलियो विपक्षी टिमलाई पनि मज्जाले हरायो । जापानको ४ अंक छ । एसियाली देशमध्ये यो सबैभन्दा बढी हो । धेरैको अनुमान के छ भने यो टिम लामै समय प्रतियोगिता कायम रहनेछ ।

Logo