काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ ।
पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखि मतदान सुरु भएको थियो ।
चितवन रास्वपाका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा तीन हजार ९५० मत खसेको अनुमान गरिएको छ ।
विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारीहरू छान्नेछन् । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गते चितवनमा सुरु भएको हो ।





























प्रतिक्रिया