काठमाडौं । सूचना प्रविधि तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा अग्रणी शैक्षिक संस्था लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ)ले आयोजना गरेको ‘एलबीईएफ प्लेसमेन्ट डे २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
कलेजको ट्रेनिङ एण्ड प्लेसमेन्ट विभागद्वारा बिहीबार आयोजित उक्त विशेष कार्यक्रममा नेपालका प्रतिष्ठित तथा अग्रणी आईटी कम्पनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रोजगार मेलामा नेपालका नामुद आइटी कम्पनीहरू फ्युजमेसिन्स, ई-सेवा, इन्फाेडेभलपर्स, सेक्युरिटीपल तथा एनिमाे लगायतका संस्थाहरूको उपस्थिति थियो। सहभागी कम्पनीहरूले एलबीईएफका स्नातक तथा पूर्वविद्यार्थीहरूसँग प्रत्यक्ष अन्तर्वार्ता सञ्चालन गर्दै उनीहरूको प्राविधिक क्षमता, सीप तथा व्यावसायिक दक्षताको मूल्याङ्कन गरेका थिए।
कलेजका ट्रेनिङ एण्ड प्लेसमेन्ट अफिसर निराजन भण्डारीका अनुसार यस कार्यक्रमले विद्यार्थी र रोजगारदाताबीच प्रत्यक्ष अन्तरक्रियाको अवसर सिर्जना गरेको छ। यसले रोजगार बजारको वर्तमान आवश्यकता अनुरूप योग्य र दक्ष जनशक्ति छनोट गर्नका लागि एउटा प्रभावकारी मञ्चको रूपमा काम गरेको उनी बताउँछन्।
उनले भने, “हामीले विद्यार्थीलाई केवल शैक्षिक ज्ञानमा मात्र सीमित नराखी उद्योगले खोज्ने सीप र अवसरसँग प्रत्यक्ष जोड्ने प्रयास गरिरहेका छौँ। प्लेसमेन्ट डे त्यसैको एउटा महत्वपूर्ण कडी हो ।”
यस वर्षको प्लेसमेन्ट डेमा कम्पनीहरूले विशेषगरी मेशिन लर्निङ इन्जिनियर, सफ्टवेयर डेभलपर, यूआई/यूएक्स डेभलपर, डिजिटल मार्केटिङ विशेषज्ञ तथा डेटा एनालिस्ट लगायतका आधुनिक प्राविधिक पदका लागि दक्ष जनशक्तिको खोजी गरेका थिए। अन्तर्वार्ता प्रक्रियाका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने केही जेहेन्दार विद्यार्थीहरूलाई कम्पनीहरूले कार्यक्रमस्थलमै ‘अन द स्पट’ रोजगारीको प्रस्ताव समेत प्रदान गरेका थिए।
कार्यक्रमले शैक्षिक संस्थाले उत्पादन गर्ने जनशक्ति र उद्योग क्षेत्रको वास्तविक मागबीच प्रभावकारी समन्वय स्थापित गरेको सहभागीहरूले बताएका छन्। रोजगारदाता कम्पनीका प्रतिनिधिहरूले एलबीईएफका विद्यार्थीहरूमा उच्च प्राविधिक ज्ञानका साथै व्यावसायिक क्षमता, समस्या समाधान गर्ने दक्षता र उद्योगमैत्री सीप पाइएको भन्दै खुसी व्यक्त गरे।
उच्च शिक्षा र उद्योग क्षेत्रबीचको दूरी कम गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी रोजगार बजारमा सहजै स्थापित गराउने उद्देश्यले आयोजित यस ‘एलबीईएफ प्लेसमेन्ट डे २०२६’ ले विद्यार्थी, रोजगारदाता तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाएको कलेज प्रशासनले जनाएको छ।
एलबीईएफले विगत लामो समयदेखि नै उद्योग-केन्द्रित शिक्षा, व्यावहारिक प्रशिक्षण तथा करियर विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।





























प्रतिक्रिया