मियामी । विश्वकप २०२६ अब ‘हाफटाइम’ मा प्रवेश गरेको छ। सबैले एक क्षण आराम लिए पनि हुन्छ। बिहीबारका खेलपछि प्रतियोगिता आफ्नो मध्यभागमा पुगेको हो। यसपल्टको विश्वकपमा कुल १ सय ४ खेल हुनेछ, त्यसमध्ये आधा सकिएको छ। त्यो भनेको ५४ खेल सकिएका छन्। अब ५० खेल बाँकी छन्। १९ जुलाईसम्म पुग्दा नयाँ च्याम्पियन पाइसक्ने छ।
आयोजक देश अमेरिका अन्तिम ३२ को चरणमा पुगिसकेको छ। यो धेरैका लागि आश्चर्य होइन। विश्व फुटबलको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगितामा अन्य आयोजक मेक्सिको र क्यानडा पनि नकआउट चरण पुगिसकेका छन्।
अहिलेसम्म अपेक्षा गरिएअनुसारका स्टार खेलाडीहरू पनि लयमा देखिएका छन्, विशेषतः अर्जेन्टिनाका लियोनल मेसी। उनले ५ गोल गरिसकेका छन्। अर्जेन्टिनाको उद्देश्य लगातार दोस्रो पटक उपाधि जित्नु नै हुनेछ। फ्रान्सका केलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्डले समान ४ गोल गरिसकेका छन्। ४ गोल गर्नेमा त अब ब्राजिलका भिनिसियस जुनियर पनि थपिएका छन्। फिफाको खुसीका लागि रंगशाला पनि भरिभराउ रहेका छन्। यसपालि कीर्तिमानी दर्शक संख्या छुने विश्वास गर्न सकिन्छ।
पूरा प्रतियोगिताले नै केही असाध्यै सकारात्मक सन्देश पनि दिएको छ। जस्तो, केप भार्डेका गोलरक्षक भोजिन्हाको कथा। उनकी आमा पनि अहिले अमेरिका पुगिसकेकी छन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनो भन्छन्, ‘यो विश्वकपमा अझ राम्रो हुन त बाँकी नै छ।’ त्यसको अर्थ के भन्दा यस विश्वकपका आधा बाँकी भाग नाटकीय हुनेछ अनि रोमाञ्चक हुनेछ।
बिहीबारको खेलपछि अन्तिम ३२ को चरण पुग्ने टिम संख्या १३ पुगेको छ। अहिलेसम्म मेक्सिकोले समूह ‘ए’, स्विट्जरल्यान्डले समूह ‘बी’, ब्राजिलले समूह ‘सी’, अमेरिकाले समूह ‘डी’, जर्मनीले समूह ‘ई’ र अर्जेन्टिनाले समूह ‘जे’ जित्ने निश्चित भइसकेको छ। नकआउट चरण पुगेका अन्य टिममा फ्रान्स, नर्वे, क्यानडा, मोरक्को, कोलम्बिया, बोस्निया एन्ड हर्जगोभिना र दक्षिण अफ्रिका रहेका छन्।
दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले आफ्नो टिमको ऐतिहासिक उपलब्धिपछि भनेका छन्, ‘मलाई अहिले थाहा भएको छ, नकआउट चरण पुग्दाको खुसी कस्तो हुन्छ भनेर। यो अनुभव शब्दमा बयान गर्न सकिन्न। खासमा आफ्ना खेलाडीलाई लिएर असाध्यै खुसी छु।’
त्यस्ता केही टिमको सूची पनि तयार भइसकेको छ, जसको चुनौती अब प्रतियोगितामा बाँकी रहेन। ती टिममा चेक गणतन्त्र, हाइटी, टर्की, ट्युनिसिया, जोर्डन, कतार र पानामा छन्। अहिलेसम्म १३ टिम नकआउट चरण पुगेको र ७ टिम प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा २८ टिमको चुनौती कायम छ। यी टिमले अन्तिम ३२ मा बाँकी १९ स्थानका लागि प्रयास गर्नेछ। यी खेलपछि प्रतियोगिता नकआउट चरणमा प्रवेश गर्नेछ। यो भनेको जितेर अगाडि बढ्ने होइन भने घर फर्किने अवसर हुनेछ।





























प्रतिक्रिया