बस्टन । उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्सले विश्वकप फुटबलको शुक्रबार राति भएको खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । यस नतिजासँगै फ्रान्स लगातार तेस्रो खेल जितेर समूह ‘आई’ को विजेता बनेको छ ।
विश्व फुटबलका दुई युवा स्ट्राइकर किलियन एम्बाप्पे र इर्लिङ हालान्ड बीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको खेलमा पेरिस सेन्ट जेर्मेनका स्ट्राइकर डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । फ्रान्सेली कप्तान एम्बाप्पेले डेम्बेलेलाई पहिलो दुई गोलका लागि पास उपलब्ध गराइदिएका थिए ।
हालान्ड भने बेन्चमै रहे । उनलाई नर्वेले नकआउट चरणका लागि ‘रेस्ट’ दिएको थियो । अघिल्लो खेल खेलेको टोलीबाट नर्वेले हालान्डसहित १० खेलाडी परिवर्तन गरेको थियो ।
बालन डो’र विजेता डेम्बेलेले बोस्टन रंगशालामा सातौं मिनेटमा गोलको खाता खोलेका थिए । २० औं मिनेटमा उनले दोस्रो गोल गरे । तर त्यसको एक मिनेट पनि बित्न नपाउँदै नर्वेबाट थेलो आसगर्डले गोल फर्काए । डेम्बेलेले ३२ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।
योसँगै डेम्बेलेसहित ब्राजिलका भिनिसियस जुनियर, एम्बाप्पे र हालान्डको ४–४ गोल पुगेको छ । अर्जेन्टिनाका लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन् ।
स्ट्रान्ड लार्सनले ५० औं मिनेटमा पेनाल्टी गुमाउँदा नर्वेले दोस्रो गोल गर्न सकेन । इन्जुरी टाइममा फ्रान्सबाट डेसाइर डोउले गोल गरे ।
टोरोन्टोमा भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले पराजित गरी तेस्रो स्थानको उत्कृष्ट आठ टोलीमा परेर नकआउट चरणमा पुग्ने आशालाई कायमै राखेको छ ।





























प्रतिक्रिया