टोकियो । जापानलाई के विश्वास रहने छ भने विश्वकपको अन्तिम ३२ मा ब्राजिलको सामना गर्दा उसलाई हराउन सकिनेछ। जापानका पूर्व प्रशिक्षक फिलिप ट्राउसियर (तस्बिरमा) के मान्छन् भने यो देशले फुटबलमा पछिल्लो समय गरेको विकासका लागि ब्राजिललाई हराउनु पुरस्कार जस्तै हुनेछ।
फ्रान्सेली प्रशिक्षक ट्राउसियरकै नेतृत्वमा जापानले सन् २००२ को विश्वकप खेलेको थियो। जतिबेला जापानले दक्षिण कोरियासँग मिलेर संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको थियो। त्यतिबेला जापान अन्तिम १६ को चरणसम्म पुगेको थियो। यो जापानको विश्वकपमा दोस्रो सहभागिता मात्रै थियो।
त्यसयता जापानले विश्वकपको कुनै पनि संस्करण गुमाएको छैन। यसपल्ट त जापानले खुलेर नै विश्वकप जित्न सक्ने दाबी गरेको थियो। यही जापानले सोमबार ह्युस्टनमा हुने नकआउट चरणको खेलमा ब्राजिलको सामना गर्नेछ। ट्राउसियरलाई के लाग्छ भने जापानले पाँचपल्टको कीर्तिमानी विजेताको सामना गर्दा चिन्तित हुनुपर्ने कुनै कारण छैन बरू, उल्टै आत्मविश्वासी भए हुन्छ।
यी ७१ वर्षीय प्रशिक्षक भन्छन्, ‘फुटबलमा जे पनि सम्भव हुन्छ। जापान अहिले निकै आत्मविश्वासी देखिन्छ। यो टिममा प्रतिभाको कुनै कमी छैन। पछिल्लो केही वर्षमा जापानले प्राविधिक रूपमा धेरै प्रगति गरेको छ। अहिले जापानी खेलाडी पनि माथिल्लो स्तरमा निकै अनुभवी भएका छन्। ती खेलाडीले युरोपका ठूला क्लबबाट लगातार खेलिरहेका छन्। ब्राजिल अहिले कागजमै मात्र बलियो रहनेछ।’
उनका अनुसार ब्राजिली टिममा अझै पनि धेरै कमजोरी छ। जापानले यसको फाइदा उठाउन सक्छ। जापानले सन् २००२ को विश्वकपका बेला ट्राउसियरलाई नियुक्त गरेको थियो। त्यतिबेला घरमै विश्वकप खेलिरहेको भएता पनि जापानी टोलीलाई कमजोर टिम मानिन्थ्यो। सन् १९९३ मा जे लिगको स्थापना गरिएको थियो। त्यो विश्वकपमा खेलेका खेलाडी सबै त्यही घरेलु प्रतियोगिताबाट उत्पादित थिए।
ट्राउसियर रहेकै बेला युवा प्रतिभा मानिएको हिडेतोसी नाकाता र सिन्जी ओनोले विदेशमा गएर व्यावसायिक फुटबल खेल्ने मौका पाएका थिए। पछिल्लो दुई दशकमा यो प्रवत्ति ह्वात्तै बढेको छ। अहिलेको जापानी टिमका तीन खेलाडीबाहेक अरू सबै युरोपमा खेल्ने गर्छन्, विशेषतः इंग्ल्यान्ड, स्पेन र जर्मनीका क्लबका लागि। ट्राउसियरलाई जापानी प्रशिक्षक रहेकै बेला के लागेको थियो भने जापानी खेलाडीले भविष्यमा असाध्यै प्रगति गर्न सक्छन्।
उनी भन्छन्, ‘मेरो अनुभवमा युरोप र अफ्रिकाका युवा खेलाडी जति प्रतिभाशाली छन्, जापानी खेलाडी त्यसको अगाडि कम्तीका छैनन्। सबैभन्दा ठूलो जापानी खेलाडी अनुशासित हुन्छन्। प्राविधिक रूपमा उनीहरू चनाखो पनि छन्। त्यतिबेला एउटै समस्या भनेको अनुभवको कमी थियो। अब त अनुभवको पनि समस्या रहेन।’
उत्तरी अमेरिकामा चलिरहेको विश्वकपमा सबथोक जापानले सोचेजस्तो पनि भएको छैन। शुक्रबारकै खेलमा पनि जापान स्विडेनसँग १–१ को बराबरीमा रोकिएको थियो। जापान यसपल्ट किन पनि आत्मविश्वासी रहेको छ भने पछिल्लो अक्टोबरमा टोकियोमा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिललाई हराउन सफल भएको थियो। यो नै ब्राजिलमाथि जापानको पहिलो जित थियो।





























प्रतिक्रिया