काठमाडौं । काठमाडौंको ज्ञानेश्वरस्थित आईएसटी सेकेण्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विदाई गर्न ‘सेलिब्रेशन फर न्यू बिगिनिङ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रबार विद्यालयका पदाधिकारी, शिक्षक, अभिभावक तथा छात्रछात्राहरूको उल्लेख्य उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै आईएसटी सेकेण्डरी स्कुलका डाइरेक्टर तेजबहादुर ढकालले दुई वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे । विद्यार्थीहरूलाई जीवनको नयाँ यात्रामा मार्गदर्शन गर्दै उनले भने, “जीवनमा सबैभन्दा पहिलो कुरा सकारात्मक सोच हुनुपर्छ। आजभोलि देशप्रति नकारात्मक भावना विकास भइरहेको देखिन्छ, तर हामीले सही दृष्टिकोण राखेर अघि बढ्नुपर्छ।”
उनले संगत र सही व्यवहारको महत्वमाथि प्रकाश पार्दै अभिभावक र शिक्षकको कडा मिहिनेत तथा अनुशासनले नै विद्यार्थीको भविष्य बलियो बनाउने उल्लेख गरे । मानिसको पहिचान उसको काम र योगदानले हुने भन्दै उनले विद्यार्थीहरूलाई आफ्नो करियरप्रति गम्भीर बन्न आग्रह गरे ।

यसैगरी स्कुलका सीईओ नरेन्द्र बज्राचार्यले नेपालको पर्यटन तथा हस्पिटालिटी (आतिथ्य) उद्योग निकै गतिशील र फस्टाउँदो अवस्थामा रहेको बताए । सन् २०२५ को तथ्याङ्क अनुसार नेपालमा करिब १६ लाख पर्यटक भित्रिएको सुखद सन्दर्भ उल्लेख गर्दै उनले भने, “नेपालमा अहिले म्यारियट, जेडब्लू म्यारियट, वेस्टिन, रिट्ज-कार्ल्टन जस्ता विश्वप्रसिद्ध र डिलक्स अन्तर्राष्ट्रिय होटल चेनहरू भित्रिने क्रम तीव्र छ। यसले गर्दा दक्ष र तालिमप्राप्त जनशक्तिको लागि देशभित्रै प्रचुर अवसरहरू सिर्जना भएका छन्।”
कक्षा १२ पास हुनासाथ विदेश हाम फाल्नुपर्ने बाध्यता नरहेको स्पष्ट पार्दै उनले कम्तीमा स्नातक तहसम्मको शिक्षा स्वदेशमै लिन अभिभावक र विद्यार्थीहरूलाई सुझाव दिए । विना तयारी विदेश जाँदा विद्यार्थीहरूमा पर्ने मानसिक र व्यावहारिक दबाबको चर्चा गर्दै सीईओ बज्राचार्यले आईएसटी कलेजले विद्यार्थीहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित होटलहरूमा इन्टर्नसिप र अन्तर्राष्ट्रिय एक्सपोजरको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रिन्सिपल सम्झना बस्न्यातले कक्षा १२ को अध्ययन पूरा हुनु शैक्षिक जीवनको एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताइन् । सामाजिक सञ्जालमा देखिने चमकधमक र विदेशको वास्तविक जीवनको संघर्ष निकै फरक हुने चर्चा गर्दै उनले विद्यार्थीहरूलाई हतारमा निर्णय नगर्न आग्रह गरिन् । आईएसटीले सधैँ विद्यार्थीहरूको अनुशासन, शिष्टाचार र सकारात्मक मानसिकतामा जोड दिँदै आएको उनको भनाइ थियो।
सोही अवसरमा प्रिन्सिपल बस्न्यातले पछिल्लो समय प्लस टु सकेलगत्तै हतारिएर वैदेशिक रोजगारी वा अध्ययनका लागि आईईएलटीएस र पीटीई गर्दै विदेशिने प्रवृत्तिको चर्चा गरिन् । सामाजिक सञ्जालमा देखिने बाहिरी चमकधमक र वास्तविकता फरक हुने उल्लेख गर्दै उनले विदेशमा नेपाली विद्यार्थीहरूले भोग्नुपरेको चरम दुःख, कडा श्रम र कतिपय अवस्थामा घटेका दुःखद घटनाहरूप्रति सचेत गराइन् ।
उनले आईएसटीमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका बीएचएम र बीटीटीएम कोर्ष अध्ययन गर्न चाहने उत्कृष्ट विद्यार्थीहरूका लागि मेरिट बेसिसका आधारमा आकर्षक छात्रवृत्तिको घोषणा पनि गरिन् । उनका अनुसार प्रथम स्थान (पावल सुनुवार), द्वितीय स्थान (अञ्जन श्रेष्ठ), तेस्रो स्थान (यान्जिन गुरुङ), चौथो स्थान (आनन्द प्रभू शाह)सहित आदित्य कटवाल, निशान खड्का, प्रेमबहादुर श्रेष्ठ, अपराज पण्डित, परिवर्तन ढकाल र रायान श्रेष्ठ लगायतका उत्कृष्ट र्याङ्किङमा परेका विद्यार्थीहरूलाई पनि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

कार्यक्रमको समापनसँगै विद्यार्थीहरूले डिजिटल फोटो रेस्टोरेसन, प्रतिभा प्रदर्शन र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।





























प्रतिक्रिया