न्युयोर्क । इंग्ल्यान्ड विश्वकप फुटबल २०२६ मा पानामाको चुनौतीलाई पन्छाउँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । इंग्ल्यान्डले आइतबार बिहान न्युयोर्कको मेट लाइफ रंगशालामा पनामालाई २–० ले पराजित गर्यो ।
इंग्ल्यान्डले समूह ‘एल’ बाट ७ अंक जोड्यो । क्रोएसिया र घाना पनि ४–४ अंकसहित दोस्रो चरणमा प्रवेश गरेका छन् । फिलाडेल्फियामा भएको खेलमा क्रोएसियाले घानालाई २–१ गोलले पराजित गर्यो । इंग्ल्यान्डको अन्तिम ३२ मा सम्भावित प्रतिद्वन्द्वी सेनेगल हुनेछ ।
क्रोएसियाका निकोला भ्लासिच (१३) ले फिलाडेल्फियामा भएको फिफा विश्वकप समूह ‘एल’ अन्तर्गत क्रोएसिया र घानाबीचको फुटबल खेलमा टोलीको दोस्रो गोल गरेपछि सहकर्मीसँग खुसीयाली साट्दै । तस्बिर : एपी फोटो/म्याट स्लोकम
पानामाले यस विश्वकपमा कुनै गोल गर्न सकेन । तर रक्षात्मक खेल्दै इंग्ल्यान्डलाई एक घन्टाको खेलमा ठूलो चुनौती तेर्साएको थियो । गोलको खडेरीलाई इंग्ल्यान्डले ६२ औं मिनेटमा तोडेको थियो, जब बुकायो साकाको क्रसमा जुड बेलिङघमले गोल गरे । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले दोस्रो गोल गरे । बेलिङघमको क्रसमा केनले हेडबाट गोल गरेका थिए ।
यस विश्वकपमा यो उनको तेस्रो गोल हो । उनले विश्वकप इतिहासमा आफ्नो गोल संख्या ११ पुर्याइसकेका छन् । साथै केनले इंग्ल्यान्डबाट विश्वकपमा सर्वाधिक १० गोल गरेका ग्यारी लिनेकरको कीर्तिमानलाई उछिनिसकेका छन् ।
इंग्ल्यान्डले डालासमा आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो । तर त्यसपछि टोली घानासँग गोलरहीत बराबरीमा रोकिए पनि नकआउट चरणमा पुगिसकेको थियो ।





























प्रतिक्रिया