कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको एउटा गिद्ध भारतको हिमाचल प्रदेशको महाराणा प्रताप सागर (पोङ ड्याम) सम्म पुगेको छ।
गत २ चैतमा जीपीएस ट्याग गरिएको उक्त गिद्ध ४ चैतमा महाराणा प्रताप सागर पुगेको थियो। नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत दिलीप चन्दका अनुसार गिद्ध अहिले पनि सागर आसपासको जंगल क्षेत्रमा विचरण गरिरहेको छ। ‘यहाँबाट गएपछि उक्त गिद्ध ड्याम आसपासकै जंगलमा विचरण गरिरहेको छ,’ उनले भने।
डंगर प्रजातिको उक्त गिद्ध वयस्क हो, जुन शुक्लाफाँटा निकुञ्जको तारापुर क्षेत्रबाट ५ सय २० किलोमिटर हवाई दूरी पार गर्दै महाराणा प्रताप सागर क्षेत्रमा पुगेको हो। गिद्ध भारतको जिम कोर्बेट नेसनल पार्क हुँदै हिमाचल पुगेको हो। पन्छी संरक्षण संघले उक्त गिद्धको अध्ययनका लागि भारतमा रहेका संरक्षणकर्मीसँग पनि समन्वय गरिरहेको छ।
भारतमा गिद्ध संरक्षणमा कार्यरत बम्बै नेचुरल हिस्ट्र सोसाइटी (बीएनएससी) सँग निरन्तर समन्वय भइरहेको चन्दले जानकारी दिए। ‘त्यो गिद्धको मुभमेन्ट राम्रो देखिएको छ, त्यही भएर अहिले समस्या छैन जस्तो लाग्छ,’ उनले भने, ‘एकै ठाउँमा बसिरह्यो भने केही समस्या हुन सक्छ तर अहिले त्यस्तो छैन।’ उनले गिद्धको अवस्था बुझ्नका लागि पन्छी संरक्षण संघको टोली हिमाचल जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।
सन् २०२५ र २०२६ को मार्चसम्म संघले निकुञ्जको हिरापुर र तारापुर क्षेत्रमा गरी १५ वटा डंगर गिद्धमा जीपीएस जडान गरेको थियो। तीमध्ये ११ वयस्क र ४ अर्धवयस्क छन्। अन्य गिद्धहरू पनि आहाराको खोजीमा भारत उत्तराखण्डकै पिथौरागढ, लोहाघाट र उत्तर प्रदेशको महाकाली नदी छेउछाउ पुगेर फर्किने गरेको पाइएको छ।
ती गिद्ध बैतडीको पञ्चेश्वर र मैलौली, डडेलधुराको अमरगढीसँगै कैलालीको गोदावरीसम्म पुग्ने गरेका छन्। ‘यी क्षेत्रमा एकै दिनमा फर्किने र एक/दुई दिन विचरण गरेर फर्किने गरेको पनि देखिन्छ,’ पन्छी संरक्षण संघका चराविद् हिरूलाल डगौंराले भने, ‘आहाराको खोजीमा गिद्धहरू टाढा–टाढासम्म पुगिरहेका छन्।’
आहारा र बासस्थान खोजीमा गिद्धले गर्ने यात्राको अध्ययनकै लागि जीपीएस जडान गरिएको हो। संघले एक दशकअघि पनि गिद्धमा जीपीएस जडान गरेर अध्ययन गरेको थियो। अहिले पनि नियमित रूपमा अध्ययन भइरहेको छ। ‘हरेक दिन गिद्ध कहाँ पुगेको छ? कति यात्रा गरेको छ? सबै अध्ययन भइरहेको छ,’ परियोजना अधिकृत चन्दले भने, ‘कुनै दिन कुनै गिद्धको मुभमेन्ट भएन भने उद्धारका लागि जानुपर्ने पनि हुन्छ।’ उनका अनुसार यसअघि भारतका विभिन्न क्षेत्रबाट बीएनएचसीको सहयोगमा गिद्धको उद्धार गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हिरापुर र तारापुर क्षेत्र गिद्धका लागि उपयुक्त बासस्थान मानिन्छन्। ती क्षेत्रमा नियमित रूपमा गिद्ध देखिने गरेका छन्। त्यही क्षेत्रबाट संघले गिद्धमा जीपीएस लगाउने गरेको हो।





























प्रतिक्रिया