– अजयकुमार साह
महेन्द्रनगर, धनुषा, १८ मंसिर । यसपालिको चुनावमा नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतोले उम्मेदवारी दिएको धनुषा क्षेत्र नं ३ मुलुककै सर्वाधिक चासोको निर्वाचन क्षेत्र बनेको छ ।
मिथिलेस झा र जिवछ राउत दुबै जना नगराइन नगरपालिका वडा नं ९ का बासिन्दा हुन् । एकै ठाउँमा बस्ने उनीहरुका धेरै कुरा मिल्छन् । मंसिर २१ को चुनावमा कसलाई भोट हाल्ने भन्ने बिषयमा भने दुबैको मत बाझिएको छ ।
झालाई लाग्छ, यो क्षेत्रबाट यसपालि राजपा उम्मेदवार महतोले चुनाव जित्छन् । ‘महतोलाई भोट दिन्छु, यसपटक उनले नै जित्छन्,’ झाले ठोकुवा गरे । सँगै रहेका राउतको भने फरक मत छ । राउतले भने – ‘यो त पहिल्यैदेखि काँग्रेसको गढ हो । त्यसमाथि विमलेन्द्र निधि रहेका छन् । उनको अगाडि जुली महासेठको त केही लागेन भने राजेन्द्र महतो के कुरा गर्नु ?’
झाको अनुमान अनुसार – ‘यसपटक महतो पाँच हजार मतको अन्तरले जित्छन् ।’ राउतको जवाफ छ – ‘प्रतिस्पर्धा छ तर बाजी निधिले नै मार्छन् । धेरै मतको अन्तर भने हुन्न होला ।’
यस्तो राजनीतिक जोड घटाउ अहिले जनकपुरमा चारैतिर भइरहेको । बिहान चोक चोकको चिया पसलदेखि लिएर साँझको भट्टी पसलसम्म निधि कि महतो भन्ने बहसमा यस्तै किसिमकोअडकलबाजी चल्ने गरेको छ ।
निधि परिवारको लामो इतिहास रहेको धनुषा–जनकपुरमा यसपालि आफ्नो परिवारको विरासत जोगाउन विमलेन्द्र निधि ३ नं क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
‘यहाँ शेर–शेरको लडाइँ छ, निधि जतिको काँग्रेसमा वर्चश्व कमाएको मधेशी नेता कोही छैन, अर्कोतर्फ महतो राजपा र मधेश आन्दोलनका अग्रणी हुन्’, जनकपुर १० का अशोक कर्णले भने – ‘दुबै जना संसदमा चाहिन्छ ।’
जनकपुर–७ मा कुटानपिसान मिल चलाउने ४७ वर्षीय मुसाफी ठाकुरलाई पनि दुईको प्रतिष्पर्धाले दोधारमा पारेको छ । ‘भविष्यको प्रधानमन्त्री हो निधि,’ उनले भने – ‘राजेन्द्र महतो पनि अध्यक्ष मण्डलमा छ राजपाको ।’ तर मतदानको दिन नजिकिएसँगै ठाकुरले कसलाई भोट हाल्ने हो भन्ने निधो भने गरिसकेका छन् ।
अहिले फेरि मधेशी समुदायको बाहुल्य रहेको जनकपुरमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी समुदायको भोटलाई कसरी आफूतिर तान्न सकिन्छ भन्नेमा केन्द्रित छ । यहाँ पहाडी समुदायको भोट निर्णायक हुने देखिँदै छ ।
जनकपुर उपमहानगरपालिकाको आधाभन्दा बढी पर्ने धनुषा क्षेत्र नं ३ मा पहिलो मधेश आन्दोलनपछि असुरक्षित महसुस गरिरहेका पहाडी समुदायले पहाडीप्रति आक्रामक नदेखिएका उम्मेदवारलाई भोट दिने बताउछन् । यो समुदायको भोट एकलौटी पार्न सके निर्णायक हुने ठानेर उम्मेदवारहरू मतदाता प्रभावित पार्न लागिपरेका छन् । करिब ६–७ हजार पहाडी मूलका मतदाता छन् जुन मुस्लिम पछिको सबैभन्दा ठूलो समूह हो । चुनाव आउन तीन दिन मात्र बाँकी छँदा पहाडी मूलका मतदाता काँग्रेस र वाम गठबन्धनमा विभाजित छन् ।
वाम गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का रामसिंह यादवको उम्मेदवारी परेपनि तुलनात्मक रुपमा उनी कमजोर रहेको आकलन गरिएको छ ।
जनकपुर उपमहानगरपालिकाको चुनावमा काँग्रेसका उम्मेदवारलाई हराउन साह र ब्राह्मणको जुन गठबन्धन बनेको थियो त्यो तोड्न निधिलाई समस्या भइरहेको छ । धनुषा ३ मा मुस्लिम मतदाताले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसतर्फ पनि दुबै नेता जोड लगाइरहेका छन् ।
जनकपुरमा पहाडी समुदाय अल्पसंख्यक हुन् । तैपनि पहिलो मधेश आन्दोलन अघिसम्म यो समुदायले शहरमा आफूलाई असुरक्षित ठान्नुपरेको थिएन । पहाडी समुदाय जनकपुरको स्थापना कालदेखिका पुराना बासिन्दा हुन् । विसं २०६४ को मधेश आन्दोलनपछि पहाडी समुदायले आफूलाई असुरक्षित ठान्न थाल्यो । कतिपय त बसाइँ सरी हिँडिसके । त्यसैले त्यहाँको पहाडी समुदायले आफूलाई संरक्षण दिन सक्ने समुदायप्रति नरम उम्मेदवार खोज्न थालेको छ ।
यसपालि प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार गैरपहाडी मूलका छन् । ‘पहाडी समुदायले आफूमैत्री उम्मेदवारलाई रोज्ने देख्छु,’ राजनीतिक विश्लेषक अजय कर्णले भने – ‘त्यसैले उम्मेदवारहरूले यो समुदायलाई रिझाउन प्रयास गरिरहेका छन् ।’
समाजशास्त्री सुनिल मिश्रका अनुसार विचारमा आधारित राजनीति कमजोर हुँदा समुदाय, जात, धर्मका आधारमा भोट दिने चलन हाबी हुने गर्छ । ‘अल्पसंख्यक, कमजोर, असुरक्षित महसुस गर्ने समूहले प्रतिरोध गर्ने तरिका भनेको आपसमा सल्लाह गरी आफूमैत्री उम्मेदवारलाई भोट हाल्ने हो, जुन विश्वव्यापी प्रवृत्ति हो, असुरक्षित महसुस गरेपछि थातथलोबाट भाग्ने वा यसरी प्रतिरोध गर्ने तरिका अवलम्बन गरिन्छ’ – मिश्र भन्छन् ।
काँग्रेसका निधिले यसै क्षेत्रबाट पछिल्लो दुवै चुनाव जितेका हुन् । सर्लाहीमा २०७० मा हार बेहोरेका नेता महतो जिल्ला सरेर यसपालि यहाँ आएका छन् । निधिले मन्त्री हुँदा यस क्षेत्रमा ‘विकास’ निर्माणका उल्लेखनीय कामहरु गरेका छन् भने महतो मधेस आन्दोलनको नेतृत्व गरेर राजनीतिक प्रभाव छाड्न सफल भएका छन् ।
जनकपुर उपमहानगरपालिकाका २५ मध्ये १७ वडा, नगराइन नगरपालिका र विदेह नगरपालिकाको ९ नम्बर वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । साथमा दुई गाउँपालिका मुखियापट्टी मुसरनिया र धनौजी छन् । जनकपुरको मेयरमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतान्तरले जितेपछि महतो त्यही लोभमा जनकपुर आउन रुचाएको हो भनिन्छ । राजपा कार्यकर्ताले त्यही जनमतलाई आफ्नो विजयको मूल आधार भन्दै आएका छन् तर यस क्षेत्रमा परेका जनकपुर र विदेहका वडाका अध्यक्ष एवं अन्य गाउँपालिकाका प्रमुखको मत जोड्दा काँग्रेसको सबैभन्दा बढी १८ हजार ४ सय ६३ मत देखापर्छ । दोस्रोमा राजपा र संघीय फोरम जोड्दा १७ हजार १ सय १६ र तेस्रोमा वाम गठबन्धनको यसकै हाराहारी १५ हजार १ सय ३५ मत देखिन्छ । यो अवस्था हेर्दा वाम गठबन्धन पनि खासै पछाडि छैन । दुई पक्षीय भनेर भनिने यस क्षेत्रमा त्रिपक्षीय भिडन्त नै हुने देखिन्छ । माओवादी उम्मेदवार बिनाविभागीय राज्यमन्त्री रामसिंह गुनासो गर्छन् – ‘निधि र महतोको मात्र प्रसंग उठाइन्छ । यहाँका मतदाताले नातावाद र वंशवादको विकल्प खोजेका छन् । त्यसको विकल्प म हुँ । वामशक्तिको जनधरातल पनि यस क्षेत्रमा बलियो छ ।’
निधि नगराइन नगरपालिकाका बासिन्दा हुन् । उनकै क्षेत्र भएकाले अन्य जिल्लाका दक्षिणी भू–भागभन्दा यसले विकास बढ्ता देख्न पाएको छ । अधिकांश गाउँमा कालोपत्रे र ढलाने सडक पुर्याइएको छ ।
उनी चुनावमा राजनीतिक पृष्ठभूमि र विकासमा दिएका योगदानका आधारमा मतदाताले मूल्याँकन गर्ने बताउँछन् । उनी भन्छन् – ‘मेरा प्रतिष्पर्धी राजनीतिमा धेरै कनिष्ठ छन् । लगातार मन्त्री भए, खोइ के गरे रु एजेन्डा सेट गर्न उनीहरू अक्षम छन् ।’
निधिले मधेसवादी दलले मधेस र मधेशी जनताको ‘ठेक्का’ लिएजस्तो गर्ने तर तिनका लागि केही नगर्ने आरोप लगाए । ‘उनीहरू पहिचान र सम्मान भन्छन्, सम्मान भनेको के हो ? सोफामा बसाउनु हो कि पाँचतारे होटलमा राख्नु ?’ निधिले भने – ‘खासमा मधेसी जनतालाई पहिचान, प्रतिनिधित्व र स्वामित्व चाहिएको छ । त्यसका लागि म लागिपरेको छु । मधेसी जनताका लागि धेरै गरेको छु । अझ मधेसदेखि पहाड र हिमाल जोड्ने काम गरेको छु ।’
अर्कोतर्फ महतोको शक्ति भनेको मधेस आन्दोलनको नेतृत्वदायी भूमिका हो । उनले चुनाव जित्ने आफ्नो मुख्य धरातल यही नै बुझेका छन् । निधि मधेश विरोधी भएको महतोको भनाइ छ । मधेसवाद र अधिकार प्राप्तिको लडाइँलाई उनले चुनावको एजेन्डा बनाएका छन् । ‘अस्सी प्रतिशत कर मधेसबाट उठ्छ तर यसले २० प्रतिशत पनि बजेट पाउँदैन,’ महतोले भने – ‘मधेसप्रति आर्थिक, राजनीतिक र सामाजिक विभेद छ । त्यसको अन्त्य नभएसम्म कुनै प्रगति हुँदैन । संघर्ष यसैका लागि हो । मधेस–थरुहट प्रदेश, भाषा, संस्कृति, पहिचान र प्रतिनिधित्वको लडाइँ हो ।’
’
संविधानमा ‘गणित’ देखाएर मधेसलाई पछि पारिएको महतोको आरोप छ र उनी त्यसको दोष निधिलाई नै दिन्छन् । उनले धनुषा ३ लाई बौद्धिकहरूको क्षेत्र बताउँदै उनले भने – ‘मधेस र मधेसीले कसरी अधिकार, मान, सम्मान, स्वाभिमान, अवसर पाउन सक्छन् भनेर चिन्तन गर्ने वर्गका व्यक्ति जनकपुरमा बस्ने भएकाले पनि यो क्षेत्र मैले रोजेको हुँ ।’
यता निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साहले जसलाई साथ दिन्छन्, तिनै बलियो हुने आकलन पनि एकथरीको छ । तर महतो कै दलका साह अचानक निधिको समर्थनमा आइपुगेका छन् । महतोविरुद्ध साहको नाम र तस्वीरसहितका पम्प्लेट जनकपुरका भित्ताभित्तामा टाँसिएका छन् ।
विश्लेषकहरुको अनुसार निधिको पल्ला भारी बनाउने दुई कारण छन् – पहिलो, उनलाई सञ्जयको साथ मिलेको छ, जसको पकडमा राम्रै मत छ । दोस्रो, जनकपुरलाई प्रदेश २ को राजधानी बनाउन उनको हातमा जति शक्ति हुनेछ, सम्भवतः महतोका हातमा कमै हुनेछन् । महतोलाई बलियो देख्नेले पनि दुइटै कारण अघि सारेका छन् – पहिलो, उनी मधेश आन्दोलनका नेतृत्वकर्ता हुन् । दोस्रो, धनुषा ३ का प्रायःजसो मतदाता मधेशी हुन्, जसको मनोभावनामा उनले प्रभाव पार्न सक्छन् ।
काँंग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र पार्टीका केन्द्रीय सदस्य हुन् । ६१ वर्षीय निधि २०२५ देखि राजनीतिमा लागेका हुन् ।
सर्लाहीको बबरगन्जमा ५९ वर्षअघि जन्मेका महतोले मानविकी र कानुनमा स्नातकोत्तर हुन् । विसं २०४६ देखि राजनीतिमा होमिएका महतो सद्भावना पार्टीको अध्यक्षसम्म भए ।































प्रतिक्रिया