असार १५ मा झापाको बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

असार १५ मा झापाको बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

केन्द्रबिन्दु
18
Shares

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ ।

भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५० वटाको सङ्ख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको स्थानीयवासीको भनाइ छ ।

हात्तीको आतङ्क अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनसमेत नसकिरहेको अवस्था छ । बाटोमै हात्ती भेटिने डरले बालबालिकाको पढाइ प्रभावित भएको छ । किसानहरू असारको हिलोमा धान रोप्न छाडेर ज्यान हत्केलामा राख्दै दिनभर हात्ती धपाउन हिँडिरहेका छन् । स्थानीय युवाहरू, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास त गरिरहेका छन्, तर यो प्रयास ‘अल्पकालीन’मात्र सावित भएको छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर फिल्डमा खटिएको बताए । उनले भने, “हामीले स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा साइरन बजाएर हात्तीलाई बस्ती तथा चियाबारीबाट भारततर्फ धपाउने काम गरिरहेका छौँ । यो समस्या स्थानीय तहको एकल प्रयासले मात्र हल हुन सक्दैन, यसका लागि सङ्घीय सरकारले नै ठोस कदम चाल्नुपर्छ ।”

लामो समयदेखि समस्या झेल्दै आएका बाहुनडाँगीका स्थानीयवासी नीलकण्ठ तिवारीले भने आक्रोश र दुखेसो पोख्दै भने, “धनजन जोगाउन मुस्किल पर्न थाल्यो भनेर प्रधानमन्त्रीलाई समेत मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापनपत्र बुझायौँ । तर सुनुवाइ भएन ।”

बाहुनडाँगी र हात्तीबीचको द्वन्द्व दशकौँदेखि छ । भारतको आसाम र पश्चिम बङ्गालबाट नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवतजावत गर्ने परापूर्वकालदेखिको यो प्राकृतिक बाटो (करिडोर) हो । मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध पुगेपछि उनीहरू गाउँ पस्न थालेका हुन् ।

हात्ती रोक्न सीमा क्षेत्रमा करोडौँको लागतमा लगाइएको विद्युतीय तारबार (फेन्सिङ) धेरै ठाउँमा जीर्ण भएको छ भने हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिल्याइसकेका छन् । त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा (बाँस, सिरु, केरा) नहुनु र गाउँमा थन्क्याइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुन्छन् ।

स्थानीयस्तरमा साइरन बजाएर वा केहीबेर धपाएरमात्र यो समस्या समाधान हुँदैन । यसका लागि नेपाल र भारत दुवै देशका सरकारबीच ‘क्रस–बोर्डर’ (सीमापार) समन्वय गरी हात्तीको पुरानो करिडोरलाई व्यवस्थापन गर्न जरुरी छ । तत्कालका लागि स्थानीय प्रशासनले फेन्सिङको मर्मत गर्ने, प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने र किसानलाई उचित क्षतिपूर्तिको ग्यारेन्टी नगरे बाहुनडाँगीमा मानवीय सङ्कट आउन सक्ने देखिन्छ ।

Logo