पाकिस्तानको सैन्य कारबाहीमा अफगानिस्तानमा २९ आतंकवादी मारिएको दाबी

पाकिस्तानको सैन्य कारबाहीमा अफगानिस्तानमा २९ आतंकवादी मारिएको दाबी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पाकिस्तानले अफगानिस्तानभित्र सैन्य कारबाही सञ्चालन गर्दै २९ जना आतंकवादी मारिएको दाबी गरेको छ । पाकिस्तान सरकारले आइतबार र सोमबारको मध्यरातमा गुप्तचर सूचनाका आधारमा उक्त कारबाही गरिएको जनाएको छ ।

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा पाकिस्तानी सेनाले ड्युरान्ड लाइन (सीमाक्षेत्र) नजिक सुनियोजित स्थलगत कारबाही सञ्चालन गरेको बताएका छन् । उनले त्यसपछि सीमा आसपास सक्रिय प्रतिबन्धित समूह जमात–उल–अहरार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)का ठेगाना तथा सुरक्षित क्याम्पहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको बताए ।

मन्त्री तरारले बाजौर क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा आतंकवादी कमान्डर खान फ्रोस उर्फ जबालसहित जमात–उल–अहरारका अन्य तीन सदस्य मारिएको दाबी गरेका छन् । उनले अन्य धेरै आतंकवादी घाइते भएको बताए ।

यता, अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानी कारबाहीमा सर्वसाधारण नागरिकहरू मारिएको आरोप लगाएको छ । बीबीसी पस्तोका अनुसार तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी हवाई आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारणको मृत्यु तथा घाइते भएको दाबी गरेका छन् । उनले यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन् ।

पाकिस्तानी सेनाले अफगानिस्तानको पूर्वी कुनार प्रान्त तथा दक्षिण–पूर्वी क्षेत्रका पक्तिया र पक्तिका प्रान्तका चामकानी र ज्ञान जिल्लामा हवाई आक्रमण गरेको थियो । बीबीसी

Logo