काठमाडौँ, १८, मंसिर
प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार (आज) मात्रै चुनावी प्रचार गर्न पाउने छन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदैछन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी ओली झापा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धामा छन् । यी मध्ये देउवा र दाहालले चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै क्षेत्रमा चुनावी कार्यक्रम बनाएका छन् भने ओली उपत्यका भित्रका कार्यक्रममा सहभागी हुँदैछन् । देउवा सोमबार दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए । केही दिन यता सुदुरपश्चिमका चुनावी कार्यक्रममा व्यस्त रहेका देउवाले शनिबार र आइतबार दिनभरि कैलाली(कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए । उनले यही बीच डोटी र अछामका कार्यक्रम पनि भ्याएको खाँणले बताए ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन् । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली सोमबार बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल भने चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछन् । उनलाई त्यहाँका चुनावी कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामबहादुर थापाले पनि सहयोग गर्नेछन् ।
यसैविच दोस्रो चरणको चुनावका लागि मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ । मौन अवधिमा दलले कुनै पनि चुनाव प्रचारप्रसारका काम गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन । मौन अवधि सुरु हुनु अघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न भएका प्रचारप्रसार सामग्री हटाउनु पर्नेछ । म्यासेज, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमा विद्युतीय माध्यमद्वारा मत माग्न, निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचार संहितामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार र दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार, सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया