काठमाडौं । देशका विभिन्न ठाँउमा निर्माण भइरहेको राष्ट्रिय राजमार्गको निर्माण कार्यमा असरल्ल रहेको विजुलीको पोलका कारण अवरोध भइरहेको छ । गएको ३१ जेठमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नागढुंगा–मुग्लिन सडकका विभिन्न खण्डमा ओर्लंदै सडक विस्तारको अवस्था र प्रगतिबारे मन्त्री लम्सालले बुझ्न थाले। निर्माणमा ढिलाइ भइरहेको स्थानीयको गुनासो सुने।
नौबिसे–मलेखु–मुग्लिन खण्डमा बिजुलीका पोल समयमै सार्न नसक्दा काममा बाधा पुगेको जानकारी लिँदै उनले ठेकेदारलाई ल्याएर राख्नु र काम नगरे खुट्टा भाँचिदिनू भन्दै सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिए। उनको भनाइको चौतर्फी आलोचना भयो। निर्माण व्यवसायीले विरोध गरे। संसद्मा सांसदले पनि प्रश्न गरे।
आफू यसबारे कमै जानकार भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। यस विषयमा प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझासँग बुझ्न आग्रह गरे। यता ओझाले भने विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि रहेको र त्यहीअनुसार प्राधिकरणले पोल सार्नेबारे ठेक्का गर्ने गरेको जनाए।
‘पोल सार्ने ठेक्का कार्यविधिअनुसार नै गरिन्छ,’ ओझाले भने, ‘पोल सार्ने कामले सडक निर्माणमा ढिलाइ भयो भन्नु आरोप मात्र हो। सबै ठाउँमा पोल सार्न ढिलाइ भएको छैन।’ सडकका तर्फबाट पनि साइट क्लियरमा ढिलाइ भएको उनले सुनाए। ‘सडक विस्तार र निर्माण गर्ने निर्माण व्यवसायीले यो म्याद थप गराउन लगाएको आरोप हो,’ उनले भने, ‘केही ठाउँमा प्राधिकरणले ठेक्का गरेर काम लगाएको ठाउँमा ठेकेदारबाट पनि समस्या भएको छ।’
एउटै कम्पनीले विभिन्न राजमार्गमा एकै पटक ठेक्का लिएकाले काममा ढिलाइ भएको ओझाको भनाइ छ। प्राविधिक कठिनाइले गर्दा पोल सार्न ढिलाइ हुने गरेको धेरै ठाउँमा बिजुलीका पोल सार्ने ठेक्का लिएको सोहन कन्स्ट्रक्सनका बालकृष्ण कार्कीले बताए। ‘बिजुलीका पोल सार्न प्राविधिक समस्या हुन्छ, सर्टडाउन गर्न र लाइन काट्न समस्या हुन्छ, यसमा अनुभवी मान्छेले मात्र काम गर्नुपर्छ,’ उनले भने।
आफूहरूले सडकका पोल सारिसकेका ठाउँमा पनि काम नभएको उनको दाबी छ। ‘विद्युत्को लाइन काटेर पोल सार्न खोज्दा कतिपय स्थानमा स्थानीयले गाली गर्छन्,’ कार्कीले भने, ‘छिटो सक्ने गरी नै काम भइरहेको छ।’ मुख्य राजमार्गको पोल कति दिनभित्र सारिसकिन्छ भन्ने विषयमा भने उनले भने, ‘मलेखु–मुग्लिन खण्डको पोल एक दिनमा, काँकडभिट्टा क्षेत्रमा कुनै समस्या नभए तीन महिना र बुटवल–गोरुसिंगे–चन्द्रौटाको कपिलवस्तुमा चार महिनाभित्र सारिसक्छौं।’
सवारीको चाप बढी हुने नागढुंगा–मुग्लिन सडक खण्डमा पनि पोल सार्ने काम बाँकी छ। यस खण्डको स्तरोन्नति गरिएको कुल दूरी ९४.६६ किलोमिटर हो। यसलाई तीन खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ। पहिलो खण्ड, नागढुंगा–नौबिसे, १२.२६ किलोमिटर, दोस्रो खण्ड नौबिसे–मलेखु, ४३.५४ किमि र तेस्रो खण्ड मलेखु–मुग्लिन ३८.८६ किमि पर्छ। नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्र ६ किमि भएको छ। अझै ६.२६ किमि बाँकी छ। यस खण्डमा एउटा आकाशे पुल निर्माणाधीन अवस्थामा रहेको र समग्र निर्माण प्रगति ८८ प्रतिशत छ। नौबिसे–मलेखु खण्डमा भने अझै पोल सार्ने काम सकिएको छैन।
यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले लिएको छ। १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यस खण्डको काम जेठ मसान्त २०८२ मा सकिसक्नुपर्ने भए पनि नसकिँदा असोज २०८३ सम्म म्याद थपिएको छ। अहिलेसम्म निर्माण प्रगति ६० प्रतिशत रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए। बिजुलीका पोल नसारिदिँदा समस्या भएको उनले गुनासो गरे।
०७९ मै बिजुलीका पोल हटाउने गरी प्राधिकरणसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो,’ ओझाले भने, ‘अझै ७५ वटा पोल हटाउन बाँकी छ।’ नौबिसेदेखि मुग्लिनसम्मकै पोल सार्ने ठेक्का सोहन कन्स्ट्रक्सनले लिएको हो। ‘समयमै पोल नसारिदिँदा उपलब्ध चौडाइमा मात्र सडक कालोपत्रको काम गर्नुपरेको छ,’ उनले भने, ‘पोल नसार्दा काम गर्न नपाएको निर्माण व्यवसायीको गुनासो छ।’ नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले पनि १ सय ७ वटा पोल नसारिदिँदा काममा ढिलाइ भएको दाबी गरिन्।
‘मुग्लिन र मलेखु बजारमा पोल सार्न नपाउँदा काम हुन सकेको छैन, मलेखु बजारमा पोल धेरै छन्,’ उनले भनिन्, ‘फिस्लिङ–चुम्लिङटार खण्डमा पनि समस्या छ।’ पूर्वाधार विकास मन्त्रालयमा केही दिनअघि भएको छलफलका क्रममा सात दिनभित्र पोल सारिसक्ने निर्णय भए पनि अहिलेसम्म त्यसको ठेक्का लिएको कम्पनी आइनसकेको अधिकारीको भनाइ छ। यस खण्डको पोल सार्ने काम पनि सोहन कन्स्ट्रक्सनले नै लिएको आयोजनाले जनाएको छ।
अर्को पोल सार्न नसकिएको सडक खण्ड हो, काँकडभिट्टा–लौकही। एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकको दूरी ९५.७६ किमि छ। यस खण्डमा सडकतर्फ तीन र पुलतर्फ दुई प्याकेज बनाएर ठेक्का गरिएको छ। प्रगति भने सोचेअनुरूप छैन। कम प्रगति हुनुको एउटा कारण विद्युत्का पोल समयमै सार्न नसक्नु नै हो।
अहिलेसम्म समग्र प्रगति ३७ प्रतिशत मात्र छ। झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किमि खण्ड पहिलो प्याकेजमा पर्छ। जसको ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन्। यस खण्डको सम्झौता रकम १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ छ। सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता २ कात्तिक २०८० मा भएको हो।
तर, निर्माण कार्यादेश भने १९ माघ २०८० (२ फेब्रुअरी २०२४) मा दिइएको हो। कार्यादेश दिएको दिनबाट समयावधि गणना हुने योजना कार्यालयले जनाएको छ। यस खण्डमा अहिलेसम्म २ हजार ४ सय २२ मध्ये ९ सय १४ पोल अझै सार्न बाँकी छ। पोल सार्ने जिम्मा सोहन कन्स्ट्रक्सनले लिएको हो।
दोस्रो प्याकेजमा सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडक विस्तार पर्छ। यसको ठेक्का सीआरएफजी–तुँदी कम्पनीले संयुक्त लिएका हुन्। जुन खण्डको दूरी ४० किमि छ। यस खण्डमा १ हजार ५ सय ५० पोल सार्नुपर्नेमा अहिलेसम्म १ हजार १ सय २२ वटा स्थानान्तरण गरिएको छ। अझै ४ सय २८ पोल सार्न बाँकी छ।
तेस्रो प्याकेजका गोठगाउँदेखि सुनसरीको लबिपुरसम्म सडकको दूरी १०.७६ किमि छ। यस खण्डमा पनि समस्या विद्युत् पोलकै छ। ६ सय ६८ मध्ये ३ सय ३१ पोल मात्र स्थानान्तरण गरिएको छ। ३ सय ७ पोल अझै सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। दोस्रो र तेस्रो खण्डमा पोल सार्ने ठेक्का एवान महाशक्ति जेभीले लिएको हो।
ठेक्का लिने कम्पनीले बिजुलीका पोल समयमै नसारिदिँदा सडक निर्माणमा प्रगति बढाउन नसकिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए। ‘नयाँ पोल गाडेर तार टाँगेर मात्र भएन, काम गर्ने ठाउँको पूरै पोल हटाउनुपर्छ, त्यो हुन सकेको छैन,’ उनले भने, ‘आयोजना सम्पन्न हुने समय नजिकिँदासम्म पोल सार्ने काम सकिएको छैन। यस्तो अवस्थामा कसरी सडक विस्तारको काम छिटो हुन्छ?’
पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी–जामुने र जामुने–पोखरा खण्डलाई दुई भागमा विभाजन गरेर ठेक्का गरिएकामा पहिलो खण्डको काम सकिसकेको छ। आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ। दोस्रो खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो। यसको दूरी ३८.८८ किमि छ । प्रगति ८१ प्रतिशत छ। तर जामुने–पोखरा खण्डमा २१ वटा पोल सार्न अझै बाँकी रहेको ढकालले जनाए।
पोल सार्ने काम नेपाल विद्युत् प्राधिकरणमार्फत हुन्छ। यसका लागि प्राधिकरणले सम्बन्धित आयोजनाहरूसँग रकम लिएर ठेक्का आह्वान गर्छ। ठेक्का लिने कम्पनीले तार, पोल सार्छन्। प्रायः सडकमा एउटै कम्पनीले पोल सार्ने ठेक्का लिँदा समस्या देखिने गरेको छ। एडीबीकै सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको नारायणगढ–हेटौंडा खण्डमा पर्ने बिजुलीका पोल सार्न प्राधिकरणसँग सम्झौता गरिसकिएको ढकालले बताए।
सूर्यविनायक–धुलिखेल सडक विस्तारअन्तर्गत रहेका बिजुलीका पोल सार्ने ठेक्का पनि सोहन कन्स्ट्रक्सनले नै लिएको छ। पटक–पटक ताकेता गरेपछि बल्लतल्ल पोल सार्ने काम सकिने चरणमा रहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोको भनाइ छ। सुरुमा सूर्यविनायक–साँगा खण्डमा ४ सय ५४ र साँगा–धुलिखेलमा ७ सय वटा पोल सार्नुपर्ने थियो। ‘अहिले सूर्यविनायक–साँगा खण्डमा मात्र २५ पोल सार्न बाँकी छ,’ महतोले भने।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकमा पनि निर्माणको प्रगति नबढ्नुको एउटा कारण सडकभर असरल्ल बिजुलीका पोल नै हुन्। बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको ठेक्का सान्सी–गीर्वाण जेभीले लिएका हुन्। यसको ठेक्का रकम १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ छ। पोल सार्ने ठेक्का भने सोहन कन्स्ट्रक्सनले लिएको हो।
पोल समयमै नसार्दा सडकको काममा ढिलाइ भइरहेको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय गोरुसिंगेकी योजना प्रमुख कुशलता न्यौपानेले बताइन्। ‘२ हजार ३ सय पोल सार्नुपर्नेमा १ हजार ९ सय सार्न बाँकी छ,’ उनले भनिन्, ‘ठेक्का लिने कम्पनीले पोल एक हजार नयाँ गाडेका छन्। नयाँ पोल राखेर तार टाँगिसकेपछि बल्ल पुराना पोल हटाउने हो।’ रूपन्देहीमा ७ सय र कपिलवस्तु खण्डमा ३ सय नयाँ पोल राखिएको न्यौपानेको भनाइ छ।
‘बुटवलदेखि कोठीखोलासम्म पोल सार्ने ठेक्का भगवती–रेनु जेभीले लिएको हो,’ न्यौपानेले भनिन्, ‘कोठीखोलादेखि गोरुसिंगेसम्म सोहन कन्स्ट्रक्सनले ठेक्का लिएको हो।’ बुटवलदेखि कोठीखोलासम्म १ हजार १ सय र कोठीखोलादेखि गोरुसिंगेसम्म ८ सय पोल सार्न बाँकी छ। दुवैतिर गरेर ४४ करोड रुपैयाँमा प्राधिकरणसँग सम्झौता भएको हो। सडकतर्फ समग्र निर्माण प्रगति २५ प्रतिशत छ।































प्रतिक्रिया