लन्डन । बेलायतका आगामी प्रधानमन्त्रीको प्रमुख उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो आर्थिक एजेन्डा सार्वजनिक गर्ने योजना बनाएका छन् । यो केही साता पहिले प्रधानमन्त्री केइर स्टार्मरले राजीनामा दिएपछि उहाँको पहिलो प्रमुख नीतिगत घोषणा हुनेछ ।
बर्नह्याम हाल स्टार्मरको स्थान लिनका लागि एकमात्र उम्मेदवार हुन् । यदि कुनै प्रतिद्वन्द्वी उम्मेदवार दर्ता नभएमा ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नह्याम मध्य जुलाईमा नै प्रधानमन्त्री बन्न सक्नेछन् ।
यो महिना सांसद बन्ने अभियानका क्रममा बर्नह्यामले विशेष गरी सत्तारूढ लेबर पार्टीको नीतिलाई ‘लेफ्ट’ तर्फ लैजाने कि नलैजाने भन्ने आफ्नो आर्थिक एजेन्डाबारे अस्पष्ट रहेको देखिएको थियो ।
म्यान्चेस्टरस्थित आफ्नो गढमा रहेको एउटा सङ्ग्रहालयमा दिने अपेक्षित भाषणमा उहाँले आफ्नो आर्थिक नीति विस्तृत रूपमा प्रस्तुत गर्ने र वेस्टमिन्स्टरबाट एक दशक टाढा रहेर पनि सरकार चलाउन तयार रहेको प्रमाणित गर्ने बताइएको छ ।
व्यवसायमैत्री समाजवादी र लेबर पार्टीको ‘सफ्ट लेफ्ट’ को प्रतिनिधित्व गर्ने मानिने बर्नह्यामले सरकारको हालको ऋण सीमालाई कायम राख्ने प्रतिबद्धता जनाएर बजारलाई आश्वस्त पार्न खोजेका छन् ।
मन्त्री स्टिभ रिडले आइतबार स्काई न्यूजलाई बताएअनुसार केही नीतिहरूमा ‘छलफल’ हुन सक्छन् तर बर्नह्याम दुई वर्षअघि स्टार्मरलाई ठूलो बहुमत दिलाउने घोषणापत्रप्रति ‘प्रतिबद्ध’ छन् ।
मेयरको रूपमा र अहिले प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारको रूपमा बर्नह्यामको मुख्य नारा विगतदेखि नै अधिकार हस्तान्तरण (विकेन्द्रीकरण) अर्थात् यातायातदेखि आवाससम्मका विषयमा स्थानीय सरकारहरूलाई निर्णय गर्ने अधिकार दिने रहेको छ ।
बर्नह्यामको सूचना तथा जनसम्पर्क कार्यालयले सम्बोधनको ‘मुख्य प्रस्ताव ह्वाइटहलबाट आधुनिक समयको सबैभन्दा ठूलो शक्ति हस्तान्तरण हो’ भनेको छ । ह्वाइटहल भनेको लन्डनको त्यो क्षेत्र हो जहाँ सरकारका मुख्य मन्त्रालयहरू केन्द्रित छन् । निर्णय प्रक्रिया क्षेत्रीय र स्थानीय समुदायमा लैजाने प्रस्ताव बर्नह्यामको रहने छ ।
बर्नह्यामले ‘नम्बर टेन नर्थ’ को स्थापना प्रस्ताव गर्नुहुने बताइएको छ । यो बेलायती प्रधानमन्त्रीको ‘टेन डाउनिङ स्ट्रीट’को ठेगानालाई सामान्य परिवर्तन गर्दै बनाइएको शब्द हो । यसको लक्ष्य ‘केन्द्रीकृत, माथिबाट निर्देशित मोडेललाई स्थानीय रूपमा सञ्चालित आर्थिक विकासले प्रतिस्थापन गर्नु’ हो ।
स्टार्मरले राजीनामा दिएपछि बेलायती सञ्चारमाध्यम र व्यवसायिक क्षेत्रमा बर्नह्यामले कसलाई अर्थमन्त्री बनाउँछन् भन्ने अनुमान चलेको छ । यो निर्णयले उनको सरकार कति बायाँपट्टि झसकाव राख्ने र राष्ट्रियतावादी हुन्छ भन्ने निर्धारण गर्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो बहसमा टिप्पणी गर्दै बर्नह्यामलाई ‘अत्यन्त उदारवादी’ राजनीतिज्ञ भनेका छन् । बर्नह्यामले ‘नर्थ सी’ लाई तेल र ग्यास ड्रिलिङका लागि ‘खुला’ गर्न नदिने सम्भावना छ ।
































प्रतिक्रिया