काठमाडौँ, १८, मंसिर
महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुन सहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो । वृत्तले आज पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइप भित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामदत्त जोशीले साइलेन्सर पाइप भित्र चारपाटे आकारको फल्स बटम बनाई त्यसभित्र तीन पोका बनाएर तामाङले सुन लुकाएर ल्याएको जानकारी दिए । सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ भित्रिएको अनुसन्धानबाट खुल्न आएको छ । वृत्तले पक्राउ परेका तामाङबाट एक चिनिया नम्बर र अर्को नेपाली नम्बर रहेको मोबाइल समेत बरामद गरेको छ । बजार मूल्य अनुसार १७ किलो सुनको मूल्य आठ करोड आठ लाख ९४ हजार ५०० हुन्छ ।
रासस































प्रतिक्रिया