काठमाडौं । नेपाललाई शैक्षिक हबमा स्थापित गर्ने उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)बीच एक समझदारी भएकाे छ ।
साेमबार आयाेजित एक विशेष समारोहका बीच इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एण्ड्र्यु) र आइप्यानका अध्यक्ष लक्ष्मण के.सी.ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
स्वदेशमै गुणस्तरीय उच्च शिक्षाको सुनिश्चितता गर्न, यसको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्न र ‘स्टडी इन नेपाल’ अभियानलाई देश तथा विदेशमा प्रभावकारी रूपमा अगाडि बढाउने साझा लक्ष्यसहित दुई संस्था एक ठाउँमा उभिएका हुन्।
विगत तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको इक्यान र विदेशी विश्वविद्यालयहरूको सम्बन्धनमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा प्रदान गर्ने कलेजहरूको साझा संस्था आइप्यानबीचको यो सहकार्यले नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । यस समझदारीले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप सुदृढ, व्यवस्थित र विश्वसनीय बनाउँदै दुवै संस्थाबीच दीर्घकालीन समन्वय र पारस्परिक विश्वासलाई संस्थागत गर्नेछ।
समझदारी अनुसार अब इक्यानका सदस्य परामर्शदाता संस्थाहरूले आइप्यान आबद्ध कलेजहरूमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति तथा करियरका सम्भावनाबारे प्रत्यक्ष र अद्यावधिक जानकारी प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकहरूले कलेज र विषय छनोटका क्रममा अझ तथ्यपरक, पारदर्शी र गुणस्तरीय परामर्श सेवा पाउन सक्नेछन्। दुवै संस्थाले व्यावसायिक, नैतिक र जिम्मेवार कार्य वातावरण निर्माण गर्दै संस्थागत सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
यो रणनीतिक साझेदारीको सबैभन्दा महत्त्वपूर्ण पक्ष ‘स्टडी इन नेपाल’ अभियानको संयुक्त प्रवर्द्धन हो । नेपाललाई विदेशी विद्यार्थीहरूका लागि आकर्षक अध्ययन स्थल बनाउन दुवै संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी र शैक्षिक कूटनीतिलाई सशक्त बनाउने सहमति गरेका छन्। यस अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई विश्व समुदायमाझ चिनाउँदै विदेशी विद्यार्थी, अनुसन्धानकर्ता र शैक्षिक साझेदारहरूलाई नेपालसँग जोडिनेछ।
यसका साथै, दुवै संस्थाले संयुक्त रूपमा क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, नीतिगत संवाद, बीटुबी नेटवर्किङ, र अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन जस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने कार्यतालिका बनाएका छन्। यसले शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूबीच सूचना आदान-प्रदान र समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा छ।
त्यसैगरी, व्यावसायिक विकासका साथै सामाजिक उत्तरदायित्वलाई पनि यो समझदारीमा विशेष प्राथमिकता दिइएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुवै संस्थाले शिक्षामा सर्वसाधारणको पहुँच बढाउन विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्नेछन्। यसै अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार, प्रतिभाशाली एवं अवसरबाट वञ्चित विद्यार्थीहरूलाई आइप्यानका सदस्य संस्थाहरूमा अध्ययनका लागि विशेष छात्रवृत्ति र शैक्षिक अवसर उपलब्ध गराइनेछ।
हस्ताक्षर समारोहमा दुवै संस्थाले यस ऐतिहासिक सहकार्यले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विद्यार्थीमैत्री बनाउन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् । साथै ‘स्टडी इन नेपाल’ अभियानलाई एउटा बलियो राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आगामी दिनमा नेपाल सरकार, विश्वविद्यालयहरू, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत नेतृत्वद्वयले जनाएका छन् ।































प्रतिक्रिया