काठमाडौं । सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लासेस) हटाउने सन्दर्भमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालबीच विस्तृत छलफल र सहमति भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटवार्ता गर्दै यस अभियानमा प्राविधिक र व्यावहारिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा समेत नभएका कालो सिसा भएका सवारी साधनहरू विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएकाले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको कानुनी व्यवस्था अनुसार नै यसलाई कडाइका साथ हटाउन लागिएको स्पष्ट पारे । उनले सवारी साधन प्रयोगकर्ताहरूले न्यूनतम रूपमा सवारीको अगाडिको सिसा (विन्डशिल्ड) मा कालो सिसा लगायत दृश्य बाधा पुऱ्याउने कुनै पनि स्टिकर टाँस्न नपाउने व्यवस्था रहेको जानकारी दिए ।
यस विषयमा सवारी साधन आयातकर्ताहरूले आ–आफ्ना ग्राहक एवं खरिदकर्ताहरूलाई पूर्वजानकारी गराउन समेत उनले आग्रह गरे । साथै, विशिष्ट परिस्थितिमा कालो सिसा प्रयोग गर्न चाहनेले सरकारको अनिवार्य अनुमति लिनुपर्ने र आयातकर्ताहरूले मेनुफ्याक्चरिङ कम्पनीबाटै पूर्ण रूपमा कालो सिसा भएका गाडी आयात गर्न नहुने ट्राफिक प्रमुख काफ्लेको भनाइ थियो।
जवाफमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा गुड्ने अधिकांश सवारी साधनहरूमा बाहिरबाट कालो स्टिकर वा फिल्म प्रयोग भइरहेको भन्दै त्यसलाई हटाउन प्राविधिक रूपमा खासै समस्या नरहेको बताए । उनले प्रहरीको अभियानलाई सहयोग गर्न सर्वप्रथम यस्ता बाह्य कालो स्टिकर र फिल्म हटाउने प्रक्रियाबाट अघि बढ्नु उपयुक्त हुने सुझाव दिए।
छलफलमा उपस्थित नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अर्को चरणमा कम्पनीबाटै (मेनुफ्याक्चरिङ प्लान्ट) कालो सिसा जडान भएर आएका सवारी साधनहरूको हकमा सहजीकरण गर्न सकिने धारणा राखे । नेपालमा त्यस्ता गाडीहरूको संख्या खासै धेरै नभएकाले तिनको यकिन संख्या पहिचान गरी हटाउन सकिने उनको भनाइ थियो।
सो छलफलमा नाडाकोतर्फबाट उपाध्यक्ष अभिक ज्योति समेतको उपस्थिति रहेको थियो।































प्रतिक्रिया