काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले नेपाललाई दक्षिण एसियाकै एक भरपर्दो र उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
इक्यान र आइप्यानबीचकाे समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपालका विश्वविद्यालय, मेडिकल कलेज तथा उच्च शैक्षिक संस्थाहरूमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च क्षमता रहेको र अब विदेशी विद्यार्थी भित्र्याउने नीतिमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
नेपालमा सस्तो र प्रतिस्पर्धी शैक्षिक लागत, सांस्कृतिक निकटता, र सुरक्षित शैक्षिक वातावरण रहेकाले यसलाई विश्व बजारमा ब्रान्डिङ गर्न आवश्यक रहेको उनको भनाइ छ । विशेषगरी नेपालले इन्जिनियरिङ, व्यवस्थापन, र सूचना प्रविधि जस्ता प्राविधिक विधाका साथै बुद्धिजम, हिमालयन हिस्ट्री, योग, आयुर्वेद, पर्यटन र हस्पिटालिटी म्यानेजमेन्ट जस्ता मौलिक विषयहरूमा विश्व बजारका विद्यार्थीलाई आकर्षित गर्न सक्ने उनले उल्लेख गरे ।
नेपालमा उच्च शिक्षाको बलियो इको-सिस्टम निर्माण गर्न अहिले धेरै चुनौतीहरू रहेको औंल्याउँदै निवर्तमान अध्यक्ष भट्टराईले विदेशी विद्यार्थीलाई भित्र्याउनका लागि देशको नीतिगत संरचना, कानुनी दायरा र कार्यान्वयनको पाटो बलियो हुनुपर्नेमा जोड दिए । यसका लागि इक्यानले मार्केट इन्टेलिजेन्स र विकासमा लगानी बढाउनुपर्ने उनको सुझाव छ ।
“आजको दिनमा इक्यानले मार्केट इन्टेलिजेन्स र रिसर्चमा काम गरेर सरकारलाई बुझाउने गरी एउटा वार्षिक नीतिगत अवधारणा पत्र तयार पार्नुपर्छ, जसमा विदेशी विद्यार्थीका लागि सहज स्टुडेन्ट भिसाको व्यवस्था होस्। हामीले सधैं विद्यार्थी बाहिर पठाउने मात्र होइन, विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने अभियान सुरु गर्नुपर्छ।” उनले भने ।
नेपालबाट विद्यार्थी बाहिर पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने अभियान सुरु गरेमा देशको अर्थतन्त्र र शैक्षिक स्तर दुवैमा ठूलो टेवा पुग्ने विश्वास पनि भट्टराईले व्यक्त गरे ।
































प्रतिक्रिया