केन्द्रविन्दु संवाददाता
काठमाडौं, १७ मंसिर
आज मंसिरे पूर्णिमा अर्थात उधौली पर्व । किरात समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ ।
यस्तै काठमाडौं उपत्यका सहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा योमरी पुन्ही र ज्यापू दिवस पनि धुमधामले मनाउँदैछ ।
खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेला स्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको हो ।उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत पनि हो । यस्तै भूमिंपुजक किराँतीहरुले नयाँ बाली लगाउनु अघि र अन्नबाली भित्र्याउनु अघि उभौली र उधौली पर्वका रुपमा मनाउँने चलन रहदै आएको छ ।
प्रकृतिपूजक किरात समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किरात समुदायले यो पर्व मनाउने गर्दछन् । विशेष गरी किरात राईको बसोबास रहेको पूर्वी पहाडी जिल्ला भोजपुर, धरान, दमक, इलाम, पाँचथर, धनकुटा, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा पनि यो पर्व मनाउने गरिन्छ ।
उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा, साकेवा नाच्ने गर्दछन् ।
यस्तै, नेवार समुदायले यस दिनलाई योमरी पुन्हीका रुपमा मनाउँछन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो ।
नयाँ बालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।
परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ जोड्दै एक दशकअघि सरकारले ज्यापू दिवसको रुपमा पनि मान्यता दिएको थियो । यसै दिन बाहुन क्षेत्री समुदायले भने आ–आफ्नो दिवाली गर्ने गर्दछन् ।
उधौली, योमरी पुन्ही पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।































प्रतिक्रिया