नेपाललाई विश्वले अध्ययन गर्ने देशका रूपमा विकास गर्न ढिला नगरौं -इक्यान अध्यक्ष पौडेल

नेपाललाई विश्वले अध्ययन गर्ने देशका रूपमा विकास गर्न ढिला नगरौं -इक्यान अध्यक्ष पौडेल

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्र्यु’ले नेपालको रैथाने संस्कृति, कृषि र साहसिक पर्यटनलाई शैक्षिक क्षेत्रसँग जोड्दै विदेशी विद्यार्थीका लागि नेपाललाई प्रमुख अध्ययन केन्द्र बनाउन सकिने बताएका छन् ।

साेमबार आयाेजित इक्यान र आइप्यानबीचकाे समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले नेपालका मौलिक पाटाहरू विदेशी विद्यार्थीका लागि अनुसन्धानको बलियो माध्यम बन्न सक्ने बताएका हुन् ।

विगत लामो समयदेखि इक्यानले नेपाललाई शैक्षिक हब बनाउने उद्देश्यका साथ पैरवी गरिरहेको स्मरण गराउँदै उनले अब परम्परागत दायराभन्दा माथि उठेर विश्व बजार सुहाउँदो शिक्षा प्रणाली भित्र्याउनुपर्ने उल्लेख गरे । नेपालका मौलिक संस्कृति, कृषि प्रणाली, जनजातीय पहिचान तथा साहसिक पर्यटनलाई शैक्षिक पाठ्यक्रमसँग जोडेर विदेशी विद्यार्थी आकर्षित गर्न सकिने उनको भनाइ छ ।

‘हामीले लामो समयदेखि नेपाललाई एउटा बलियो शैक्षिक हब बनाउने अभियान चलाउँदै आएका छौँ। अबको शिक्षामा हामीले भविष्यको भिजन, मिसन, रोबोटिक्स र एआई जस्ता नवीन प्रविधिलाई जोड्नुपर्छ। हाम्रो देशमा भएका प्राकृतिक स्रोत, हाम्रा मौलिक गतिविधि, साहसिक खेल र रैथाने संस्कृतिहरूमा अहिलेसम्म पर्याप्त ध्यान पुग्न सकेको छैन।’ उनले भने,’हाम्रो उद्देश्य भनेको विश्वका शीर्ष ५०० भित्र पर्ने उत्कृष्ट शिक्षा र विश्वविद्यालयहरू नेपालमै ल्याएर वातावरण तयार गर्नु हो। नेपाललाई विश्वका विद्यार्थीले पढ्ने देशका रूपमा विकास गर्नुपर्छ। हाम्रा कृषि समुदाय, सांस्कृतिक विविधता, रक क्लाइम्बिङ र एड्भेन्चर पर्यटन जस्ता क्षेत्रमा विदेशी विद्यार्थीलाई आकर्षित गरेर यहाँको पहिचान विश्वभर फैलाउन सकिन्छ।’

विश्व बजारका उत्कृष्ट शैक्षिक कार्यक्रमहरू नेपालमै उपलब्ध गराएर नेपाली विद्यार्थीलाई स्वदेशमै रोक्ने र विदेशी विद्यार्थीका लागि नेपाललाई एक विशेष आकर्षण केन्द्र बनाउन निजी क्षेत्र र सरकार दुवैको सहकार्य आवश्यक रहेको अध्यक्ष पौडेलले स्पष्ट पारे ।

स्वदेशमै गुणस्तरीय उच्च शिक्षा सुनिश्चित गर्न र ‘स्टडी इन नेपाल’ अभियानलाई प्रवर्द्धन गर्न इक्यान र आइप्यान एक ठाउँमा उभिएका हुन्। समझदारी अनुसार इक्यानका परामर्शदाताहरूले आइप्यान आबद्ध कलेजका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया र छात्रवृत्तिबारे प्रत्यक्ष जानकारी पाउनेछन्, जसले विद्यार्थीलाई पारदर्शी परामर्श सेवा दिन मद्दत गर्नेछ।

Logo