काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्नो क्रिप्टो (डिजिटल मुद्रा) व्यवसायबाट करिब एक अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको एक संघीय वित्तीय प्रतिवेदनले देखाएको छ । सोमबार सार्वजनिक भएको उक्त प्रतिवेदनअनुसार ट्रम्पका क्रिप्टो व्यवसायको आम्दानी अहिले उनको दशकौँ पुरानो घरजग्गा व्यवसायभन्दा पनि बढी भएको छ ।
रिपोर्टका अनुसार, ट्रम्पले आफ्नो वर्ल्ड लिबर्टी फाइनान्सियल कम्पनीबाट मात्रै ५० करोड डलरभन्दा बढी आम्दानी गरेका छन् । कम्पनीले नयाँ क्रिप्टो उत्पादन र ‘गभर्नेन्स टोकन’ बिक्री गरेर उक्त रकम आर्जन गरेको जनाएको छ ।
त्यस्तै, ट्रम्पसँग सम्बन्धित अर्को कम्पनी सीआईसी डिजिटल एलएलसीले ६० करोड डलरभन्दा बढी आम्दानी गरेको छ । यस कम्पनीले ट्रम्पको नाम र तस्बिर प्रयोग गरिएका विशेष ‘मिम क्वाइन’ बिक्री गरेको थियो । यद्यपि, बिक्रीपछि ती टोकन तथा सिक्काको बजार मूल्यमा उल्लेखनीय गिरावट आएको बताइएको छ ।
रिपोर्टअनुसार ट्रम्पको क्रिप्टो व्यवसाय विस्तारमा दुई अर्बपति लगानीकर्ताको ठूलो भूमिका रहेको थियो । साथै, क्रिप्टो उद्योगमाथि कडा सरकारी नियमन नगर्ने ट्रम्प प्रशासनको नीतिले पनि व्यवसायलाई उल्लेखनीय लाभ पुगेको उल्लेख गरिएको छ ।
यसैबीच, ट्रम्पको परम्परागत घरजग्गा व्यवसायले पनि गत वर्ष राम्रो आम्दानी गरेको छ । ट्रम्पले विभिन्न देशमा ब्रान्ड लाइसेन्सिङ र विकाससम्बन्धी सम्झौताहरू गरेका छन्, जसलाई उनको व्यवसायको इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विस्तारका रूपमा हेरिएको छ ।
रिपोर्टअनुसार तीमध्ये धेरैजसो देशहरू हाल अमेरिकासँग भन्सार महसुल (ट्यारिफ), सुरक्षा सहयोग तथा अन्य कूटनीतिक विषयमा वार्तामा संलग्न रहेका छन् ।






























