काठमाडौं । यतिबेला चलचित्र ‘गौँथली’ चर्चाको केन्द्रमा छ । यसको विषयवस्तुले सुरुमा तानेका दर्शकलाई निर्माण टिमले गरेको प्रचार शैलीले थप आकर्षित गरिरहेको छ ।
प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ । यसको गीत सार्वजनिक कार्यक्रममा ‘गौँथली’का मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला र बेहुलीको भेषमा पुगेका थिए । किनकी त्यो गीतमा र सिनेमामा उनीहरु त्यही भेषमा थिए ।
यही मेहनत यी दुई कलाकारले चलचित्रको प्रचार अघि बढाउँदै जाँदा पनि गरिरहेका छन् । केही दिन अघि अरुण र सिम्रन एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन त्यही भेषमा पुगे । सिनम्रनले आफू १५ वर्षको उमेरमै एक अटिजम भएको व्यक्तिसँग विवाह गर्न पुगेको बताइन् । अरुणले अटिजम भएको क्यारेक्टर सिनेमामा जसरी निभाएका छन्, त्यही क्यारेक्टरमा अन्तर्वार्ता दिए ।
सुरुमा धेरै साँच्चै कोही रियल क्यारेक्टरले अन्तवार्ता दिइहेको भनेर झुक्किएका थिए । जुन शैली यी दुई क्यारेक्टरले सिनेमाको प्रचारमा अपनाएका छन्, र मेहनत गरिरहेका छन् । यसले सिनेमालाई थप धेरै दर्शक माझ पुर्याएको छ ।
‘गौँथली’मा यो विषय उठान गर्ने र कलाकारले प्रचारका लागि यो शैली अपनाउन हौसला निर्देशक कपिल रिजाल र प्रकाश सुवेदीले दिएका हुन् ।
निर्देशक रिजालले यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका थिए । यसमा उनले पहिलोपटक जितु नेपाललाई हिरोका रुपमा ब्रेक दिएका थिए । ‘ह्यारी कि प्यारी’ उनको डेब्यु निर्देशन थियो ।
यसपटक पनि उनले जोखिम मोलेर अटिजमको विषय उठान गरेका छन् । यही विषयको उठान र प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन्, जसले सिनेमाको हाइप बढाउने काम गरिरहेको छ ।
कपिल आफैँमा भने पेशाले चिकित्सक हुन् । लामो समय बेलायत बसेर उनले डेन्टल चिकित्सकको रुपमा काम गरेका थिए । तर, उनी पछिल्लो समय निर्देशनमा आइपुगेका छन् ।
कपिल स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन् । गीतकार र चलचित्रकर्मी समेत रहेका भोला रिजालको कलाप्रतिको समर्पणको छाप सानैदेखि कपिलमा पनि परेको थियो । त्यसैले त्यसको प्रभावस्वरुप ढिलै भए पनि कपिल चलचित्र निर्देशनमा आइपुगेका हुन् ।
डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ ।
चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् । यो चलचित्र साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
































