काठमाडाैं । चितवनमा हालै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रयोग गरिएको नेपाली प्रविधिको विद्युतीय मतदान मेसिनका सम्बन्धमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा भ्रम फैलाइएको भन्दै प्रविधि विकासकर्ता रामलक्ष्मण रिमालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विगत १३ वर्षदेखि नेपालमै विद्युतीय मतदान प्रणालीको अनुसन्धान र विकास गर्दै आएका रिमालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक यथार्थभन्दा बाहिर गएर गरिएका टिप्पणीहरूले आम नागरिकमा भ्रम पैदा गरेको स्पष्ट पारेका हुन् ।
रास्वपाको निर्वाचनमा ‘खुलातर्फ एउटै पदमा ६४ जनाका लागि मतदान गर्नुपर्ने’ विषयलाई लिएर विभिन्न जिज्ञासा र भ्रमहरू उत्पन्न भएका थिए। विज्ञप्तिमा खुलाइए अनुसार, यो मेसिनको खराबी नभएर रास्वपाको आफ्नै निर्वाचन विधान र उम्मेदवार चयन प्रक्रियाको माग थियो।
रास्वपाको महाधिवेशनमा कुल ९९ जना केन्द्रीय सदस्य छानिने व्यवस्था थियो, जसमध्ये भूगोलतर्फ (७ प्रदेशबाट ५–५ जना गरी) ३५ जना र बाँकी ६४ जना खुला श्रेणीबाट निर्वाचित हुनुपर्ने व्यवस्था थियो। खुलातर्फ ६४ वटा सिटका लागि २१० जना उम्मेदवारहरू चुनावी मैदानमा थिए। त्यसैले, एकैजना मतदाताले ६४ जनासम्म उम्मेदवारलाई रोज्नुपर्ने राजनीतिक र कानुनी बाध्यताका कारण मेसिनलाई सोही अनुसार (मल्टिपल च्वाइस) कन्फिगर गरिएको थियो।
प्रेस विज्ञप्ति जस्ताकाे तस्तैः
एउटै पदमा ६४ जना किनभयो ?
कुनै पनि निर्वाचनमा विद्युतीय मतदान उपकरणको भूमिका निर्वाचन प्रक्रियाको अन्तिम चरण अर्थात् मतदान गराउने कार्यमा मात्र रहन्छ । उम्मेदवारको मनोनयन, दाबी–विरोध, उम्मेदवारी फिर्ता, पद तथा समूह (क्लस्टर) निर्धारण, उम्मेदवारको क्रम संख्या तथा अन्तिम नामावली तयार गर्ने सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगको हुन्छ। मतदान उपकरणमा भने निर्वाचन आयोगबाट हस्ताक्षरसहित प्राप्त अन्तिम आधिकारिक नामावली र सोही क्रममा रहेका उम्मेदवारहरूको विवरण कुनै परिवर्तन नगरी जस्ताको त्यस्तै समावेश गरिन्छ।
यस महाधिवेशनमा पनि हामीले प्रारम्भिक रूपमा छुट्टाछुट्टै क्लस्टरका आधारमा मतदान प्रणाली तयार गरेका थियौं। तर अन्तिम समयमा निर्वाचन आयोगबाट खुला र समावेसी उम्मेदवारलाई एउटै समूहमा समावेश गरिएको संशोधित अन्तिम नामावली तथा सोहीअनुसार मतदान गराउनुपर्ने निर्देशन प्राप्त भयो। हाम्रो अनुभवका आधारमा यस व्यवस्थाले मतदान तथा मतगणना प्रक्रियालाई थप जटिल बनाउन सक्ने प्राविधिक सुझाव दिएका थियौं, तर निर्वाचन आयोगले पार्टीको विधानअनुसार यही व्यवस्था कायम रहने जानकारी गरायो।
त्यसैले मतदान उपकरणमा देखिएको एउटै समूहमा ६४ जना उम्मेदवारको व्यवस्था हाम्रो तर्फबाट गरिएको निर्णय नभई निर्वाचन आयोगबाट प्राप्त अन्तिम आधिकारिक नामावली र निर्देशनअनुसार जस्ताको त्यस्तै कार्यान्वयन गरिएको व्यवस्था हो। विद्युतीय मतदान उपकरणले निर्वाचन आयोगबाट प्राप्त विवरणलाई मात्र कार्यान्वयन गर्ने भएकाले पद, समूह, उम्मेदवारको संख्या वा क्रमसंख्यामा परिवर्तन गर्ने कुनै अधिकार वा भूमिका हाम्रो हुँदैन।
उम्मेदवारको नाम र क्रम संख्या कसरी बिग्रयो ?
कतिपयले मतदान मेशिनमा उम्मेदवारको नाम र क्रम संख्या फरक राखिएको भन्ने बुझाइ व्यक्त गर्नुभएको छ। यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छौं कि मतदान मेशिनमा उम्मेदवारको विवरण निर्वाचन आयोगबाट आधिकारिक रूपमा हस्ताक्षर गरी उपलब्ध गराइएको अन्तिम नामावलीका आधारमा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै समावेश गरिएको हो।
निर्वाचन प्रक्रियामा निर्वाचन आयोगले स्वीकृत गरी जारी गरेको अन्तिम नामावली नै आधिकारिक अभिलेख हुने भएकाले उम्मेदवारहरूले पनि सोही आधारमा आफ्नो प्रचारप्रसार गर्ने प्रचलन रहेको हुन्छ। त्यसैले मेशिनमा कुनै नाम, क्रम संख्या वा अन्य विवरण थप्ने, हटाउने वा परिवर्तन गर्ने अधिकार वा भूमिका हाम्रो हुँदैन। यस महाधिवेशनमा पनि निर्वाचन आयोगबाट हस्ताक्षरसहित प्राप्त अन्तिम सूचीलाई अक्षरशः मेशिनमा समावेश गरिएको हो। त्यसैले उम्मेदवारको नाम वा क्रम संख्यासम्बन्धी कुनै पनि परिवर्तन वा त्रुटि मतदान मेशिन वा हाम्रो प्रविधिका कारण भएको होइन।
अनिवार्य मतदान किन गरियो ?
निर्वाचन पूर्व रास्वपा पार्टी कार्यालयमा जाँदा नै हामीले ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ जस्ता ब्यानर पार्किङमै टाँसिएको देखेका थियौं। सोही अनुसार हामीले सम्झौता गर्दा नै ऐच्छिक मतदानका लागि मेशिन तयार गर्ने भनी बुँदामा उल्लेख गरिएको थियो।
जब निर्वाचन आयोगले हामीलाई मध्यरातमा अन्तिम नामावली दिनुभयो र एउटा मेशिनमा उक्त नामावली लोड गरी निर्वाचन आयोगलाई देखायौं, उहाँहरूले त्यतिखेरै ‘यो त अनिवार्य गर्नुपर्छ’ भनेर हामीलाई भन्नुभयो। हामीले सम्झौताअनुसार नभए समस्या ल्याउँछ भन्यौं। उहाँहरूले जसरी हुन्छ अनिवार्य गर्नुस भनेपछि हामीले सम्झौताको बुँदा उल्लेख गर्दै लिखित निर्देशन माग्यौं।
सोही अनुसार उहाँहरूले लिखित निर्देशन दिएपछि मात्र हामीले मेशिनमा भोट हाल्दा इच्छाधिनको सट्टामा अनिवार्य एक समुहका उमेद्ववारहरूलाइ तोकिएको संख्यामा मत खसाल्नै पर्ने बनाएका हौ ।
उम्मेदवारको फोटो किन आएन ?
विद्युतीय मतदान उपकरणको प्रमुख विशेषतामध्ये एक भनेको उम्मेदवारको नामसँगै तस्बिरसमेत विद्युतीय मतपत्रमा समावेश गरी मतदाताले तस्बिर हेर्दै सहज रूपमा मतदान गर्न सक्नु हो। यही सुविधालाई ध्यानमा राख्दै सम्झौतामा पनि उम्मेदवारहरूको फोटोसहितको विद्युतीय मतपत्र तयार गर्ने व्यवस्था उल्लेख गरिएको थियो।
सोहीअनुसार हामीले प्रारम्भिक रूपमा भूगोललगायत विभिन्न क्लस्टरका उम्मेदवारहरूको फोटोसहितको मतदान प्रणाली तयार गरिसकेका थियौं। तर निर्वाचन प्रक्रियाको अन्तिम चरणमा निर्वाचन आयोगले महिला र खुला समूहलाई छुट्टाछुट्टै राख्ने पूर्वतयारी परिवर्तन गरी एउटै समूहमा समावेश गर्ने निर्णय गर्यो। त्यसअनुसार नयाँ संरचनासहितको अन्तिम आधिकारिक नामावली हामीलाई राति करिब ११:३० बजे मात्र उपलब्ध गराइयो।
अन्तिम नामावली प्राप्त भएपछि प्रत्येक उम्मेदवारको फोटो पुनः मिलान गरी नयाँ विद्युतीय मतपत्र तयार गर्न सामान्य अवस्थामा कम्तीमा ८ देखि १० घण्टा समय आवश्यक पर्ने विषय हामीले पूर्वमै जानकारी गराएका थियौं। तर अन्तिम नामावली प्राप्त भएको करिब एक घण्टाभित्रै मतदान सुरु गर्नुपर्ने निर्वाचन आयोगको निर्देशन तथा समयगत बाध्यताका कारण फोटोसहितको विद्युतीय मतपत्र तयार गर्न प्राविधिक रूपमा सम्भव भएन।
त्यसैले निर्वाचन आयोग तथा व्यवस्थापन पक्षको निर्देशनअनुसार अन्तिम आधिकारिक नामावलीका आधारमा तस्बिरबिनै मतदान प्रणाली तयार गरी निर्धारित समयमा निर्वाचन सञ्चालन गरिएको हो। उम्मेदवारको तस्बिर समावेश हुन नसक्दा मतदाताहरूले प्रश्न उठाउनु स्वाभाविक हो, र हामी त्यसप्रति सम्मान व्यक्त गर्दछौं। यद्यपि, यो अवस्था मतदान उपकरणको प्राविधिक सीमाका कारण नभई अन्तिम नामावली अत्यन्त ढिलो प्राप्त हुनु र त्यसलगत्तै निर्वाचन सुरु गर्नुपर्ने समयगत बाध्यताका कारण सिर्जना भएको हो।
नतिजा किन ढिला आयो?
आषाढ १० गते दिउँसो १२ बजे सकिएको निर्वाचनको मतगणनाका लागि सबै डाटा संकलन गर्दै गर्दा प्रवासको निर्वाचन त शुरु नै भएको छैन भन्ने खबर आयो। प्रवासमा निर्वाचन नै नभई मेशिनको मत गणना गर्दा नतिजा प्रभावित हुने भएकाले प्रवासको मतदान भई नतिजा नआएसम्म गणना नगर्ने भनियो।
बेलुकी ६ बजेतिर प्रवासको मतदान सकियो भनेपछि हामीले जम्मा १० मिनेटमा ८० वटा मेशिनको २,९२,९४१ वटा स्वस्तिक छाप गणना गरी निर्वाचन आयोगलाई प्रदान गर्यौं। मतपरिणामलाई औपचारिक नतिजामा ल्याउन निर्वाचन आयोगलाई जति समय लाग्यो, त्यो हाम्रो प्रणालीको होइन, आयोगको आन्तरिक प्रक्रियाको कारण हो।
































