काठमाडाैं । काठमाडौंको मण्डिखाटारमा अवस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले आफ्नो २० औँ वार्षिकोत्सव तथा मेगा एसेम्बली कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न गरेको छ।
बिहीबार कलेज परिसरमा आयोजित एक विशेष समारोहमा विगत दुई दशकमा संस्थाले हासिल गरेका उपलब्धि, शैक्षिक योगदान तथा आतिथ्य र पर्यटन शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको समीक्षा गरिएको थियो। कार्यक्रमको उद्घाटन चेयरम्यान सुदर्शन चापागाईँ र संस्थापक–सीईओ खेमराज लकाईले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका संस्थापक एवं सीईओ खेमराज लकाईले आफूले यस क्षेत्रमा प्रवेश गर्दाका सुरुवाती क्षणहरू स्मरण गरेका थिए । विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै उनले मनदेखि चाहेको कुरा पक्कै प्राप्त हुने तर त्यसका लागि मेहनत भने आवश्यक रहने बताएका थिए ।
साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावसायिक सीप विकास र अन्तर्राष्ट्रियस्तरको शैक्षिक अभ्यासलाई थप सुदृढ बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा संस्थाका चेयरम्यान सुदर्शन चापागाईंले संस्थाको जग र टिम अत्यन्त बलियो रहेकोमा खुसी व्यक्त गरे । संस्थाको उतारचढावपूर्ण यात्रामा हरेक परिस्थितिमा साथ दिने सम्पूर्ण टिम र सदस्यहरूलाई उनले विशेष धन्यवाद पनि दिए ।
कार्यक्रममा कलेजको फाइनल सेमेस्टरमा अध्ययनरत स्विस विद्यार्थी जुरियम हेमलले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। नेपाल आउँदाको आफ्नो अनुभव सुनाउँदै उनले नेपालको ‘अतिथि देवो भवः’ को संस्कार, यहाँको संस्कृति, प्रकृति र हस्पिटालिटीसँग आफ्नो पहिलो साक्षात्कार निकै अविस्मरणीय रहेको बताए।

यसैगरी, कलेजकाे विद्यार्थी परिषद्की अध्यक्ष निशा श्रेष्ठले विद्यार्थीका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै कलेजको यो कोसेढुङ्गासँगै आफूहरूको जीवनमा पनि नयाँ अध्याय सुरु हुन लागेको धारणा राखिन्।
उत्सवकै बीच कलेजका बीआईएचएम, बीपीएच तथा व्यावसायिक कार्यक्रम अन्तर्गतका उत्कृष्ट विद्यार्थीहरूलाई सेमेस्टर टपर, बेस्ट ग्रुमिङ अवार्ड, अटेन्डेन्स अवार्ड, र प्रिजेन्टेसन अवार्डद्वारा पुरस्कृत गरिएकाे थियाे । साथै वर्षभरि उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरूलाई पनि विभिन्न विधामा सम्मानित गरिएकाे थियाे ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमका बीच नयाँ शैक्षिक सत्रका विद्यार्थीहरू (ब्याच–३७) को औपचारिक परिचयसहित आकर्षक स्टेज वाक समेत गराइएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘मिस्टर एन्ड मिस गेट–२०२६’ प्रतियोगिता आयोजना गरिएको थियो। रोमाञ्चक प्रश्नोत्तर चरण पार गर्दै यस वर्ष तीन फरक विधामा विजेताहरू छानिएका छन्। जसअन्तर्गत ‘मिस्टर एण्ड मिस फेसन आइकन’, ‘मिस्टर एण्ड मिस गेट पर्सनालिटी’, र मुख्य उपाधि ‘मिस्टर एण्ड मिस गेट’ गरी तीनवटा विधामा उत्कृष्ट ३–३ जना विद्यार्थीहरूलाई विशेष सम्मानसहित उपाधि प्रदान गरिएको थियो।
समारोहमा संस्थाका संस्थापक, व्यवस्थापन टोली, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी अभिभावक, तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
दुई दशक लामो गौरवशाली यात्रा पार गरेको गेट कलेजले नेपालको टुरिजम तथा हस्पिटालिटी शिक्षामा दरिलो छाप छोड्न सफल भएको छ।
































