काठमाडौं । सेलिब्रेटी क्रिकेट उत्सव अन्तर्गत आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा ‘द स्टार्स’ टोलीले ‘द इन्टरटेइनर्स’ लाई पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
मनोरञ्जन र खेलकुदलाई एकै थलोमा जोड्ने उद्देश्यले आयोजित उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीका कलाकार तथा चर्चित व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। खेलभरि अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक प्रदर्शन भए पनि अन्ततः उत्कृष्ट रणनीतिका साथ मैदान उत्रिएको ‘द स्टार्स’ टोलीले जित आफ्नो पक्षमा पार्न सफल भयो।
उक्त विशेष खेलको मुख्य प्रायोजन ‘शुभ बिहानी ट्राभल’ ले गरेको थियो। खेल समापन लगतै मिडियासँग कुराकानी गर्दै शुभ बिहानी ट्राभलका अध्यक्ष सिमन बरालले विजेता टोली ‘द स्टार्स’ का कप्तानलाई पुरस्कार स्वरूप पोखराको दुईतर्फी (टु-वे) हवाई टिकट प्रदान गरिने घोषणा गरे।
अध्यक्ष बरालले यस्ता सिर्जनात्मक कार्यक्रमले कलाकारहरूबीच आपसी सम्बन्ध अझ मजबुत बनाउनुका साथै देशमा खेलकुदप्रति सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास समेत व्यक्त गरे।






























