टर्कीको चेतावनी: इजरायललाई अमेरिका-इरान सम्झौता बिगार्ने अनुमति दिन हुँदैन

टर्कीको चेतावनी: इजरायललाई अमेरिका-इरान सम्झौता बिगार्ने अनुमति दिन हुँदैन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई संयुक्त राज्य अमेरिका र इरानबिचको शान्ति सम्झौता भंग गर्ने अनुमति दिन नहुने बताएका छन्। उनले भनेका छन्, ‘क्षेत्रीय देशहरूको समर्थन र सहयोगबिना मध्यपूर्वमा शान्ति स्थापना सम्भव छैन।’

समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार इस्तानबुलमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँग संयुक्त पत्रकार सम्मेलन गर्दै उनले उक्त धारणा राखेका हुन्।

एर्दोगानले भने, ‘क्षेत्रीय देशहरूको इच्छा र योगदानमा आधारित समाधान मात्र दिगो हुन सक्छ। क्षेत्रीय देशहरूको समर्थन नभएको कुनै पनि समाधान लामो समयसम्म टिक्दैन।’उनले थपे, ‘हामी संयुक्त राज्य अमेरिका र इरानबिचको सम्झौता बिगार्न इजरायली सरकारले गरिरहेको प्रयासलाई नजिकबाट नियालिरहेका छौँ। वर्तमान इजरायली सरकार निरन्तर युद्धको बाटोमा लागिरहेको छ। यसलाई फेरि एकपटक हाम्रो क्षेत्रलाई बारुद र रगतको गन्धमा डुबाउन दिन हुँदैन।’

एर्दोगानले इजरायलविरुद्ध अमेरिका-इरान सम्झौता कमजोर पार्न खोजेको आरोप बारम्बार लगाएका छन्।उनले गाजा, लेबनान र सिरियामा इजरायलको सैन्य आक्रमणको पनि बारम्बार आलोचना गरेका छन्।

यसअघि टर्कीका विदेशमन्त्री हकान फिदानले पनि इजरायल हाल नयाँ शत्रुको खोजीमा रहेको आरोप लगाएका थिए। फिदानले भनेका छन्, ‘जबसम्म इजरायल वा अन्य कुनै पनि पक्षले टर्कीको राष्ट्रिय र क्षेत्रीय हितविरुद्ध कार्य गर्न जारी राख्छ, तबसम्म हामीसँग डराउने, हिचकिचाउने वा पछि हट्ने कुनै कारण छैन।’

Logo