चीनले जापानलाई दबाब सिर्जना गरेको दाबी

चीनले जापानलाई दबाब सिर्जना गरेको दाबी

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले जासुसी, सामुद्रिक आक्रामकता र आर्थिक दबाबका माध्यमबाट जापानविरुद्ध निरन्तर दबाब सिर्जना गरेको छ । युरोपियन टाइम्समा प्रकाशित समाचारअनुसार चीनले टोकियोको प्रतिरोध क्षमता र अमेरिकासँगको सुरक्षा गठबन्धनको विश्वसनीयताको परीक्षण गरिरहेको छ ।

जापानका सेमिकन्डक्टर, रोबोटिक्स तथा अन्य अत्याधुनिक उद्योगहरू चिनियाँ गुप्तचर सञ्जालको निशानामा परेका छन् । साइबर घुसपैठ तथा उद्योगभित्रका व्यक्तिहरूलाई प्रलोभनमा पारेर संवेदनशील सूचना संकलन गर्ने गतिविधिले जापानको प्रतिस्पर्धात्मक क्षमतामाथि गम्भीर चुनौती खडा गरेको उल्लेख छ ।

यो चुनौतीको सामना गर्न जापानले आफ्नो काउन्टर–इन्टेलिजेन्स संयन्त्रलाई सुदृढ बनाउनुपर्ने, शैक्षिक आदानप्रदानमाथिको निगरानी कडा गर्नुपर्ने तथा प्रविधि चोरी रोक्न जापान, अमेरिका र युरोपेली संघ (ईयू) सम्मिलित संयुक्त कार्यदल गठन गर्नुपर्ने सुझाव रिपोर्टले दिएको छ ।

रिपोर्टमा चीनका तटरक्षक जहाज र माछा मार्ने डुंगाहरू नियमित रूपमा सेनकाकु टापु वरपरको सामुद्रिक क्षेत्रमा प्रवेश गरिरहेको उल्लेख छ । यी गतिविधि जापानको सार्वभौमसत्तालाई कमजोर बनाउने दीर्घकालीन रणनीतिको हिस्सा भएको जनाइएको छ ।

त्यसैले जापानले आफ्नो समुद्री गस्ती बढाउनुका साथै सामुद्रिक क्षेत्रको निगरानी अझ प्रभावकारी बनाउनुपर्ने र आफ्ना समुद्री क्षेत्रमाथि कुनै सम्झौता नहुने स्पष्ट सन्देश दिन सहयोगी देशहरूसँग संयुक्त सैन्य अभ्यासलाई तीव्र बनाउनुपर्ने सुझाव छ ।

युरोपियन टाइम्स मै प्रकाशित लेखमा तिब्बती आध्यात्मिक गुरु दलाई लामाका भतिजा खेदरुब थोन्डुपले लेखेका छन्, “सीसीपीका रणनीतिहरू एकीकृत छन्, त्यसैले हाम्रो जवाफ पनि उत्तिकै समन्वित हुनुपर्छ ।” उनले जापान एक्लै उभिन नसक्ने बताएका छन् । जापानको रक्षा गर्नु भनेको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्नु रहेको उनको तर्क छ । चीनको दबाबलाई सामूहिक सुरक्षा चुनौतीका रूपमा लिएर कूटनीतिक, आर्थिक र सैन्य कदम चालिनुपर्ने उनको धारणा छ ।

जापानका एक वरिष्ठ अधिकारीले जापानले ‘पुनः सैन्यीकरण’ (रिमिलिटराइजेसन) गरिरहेको भन्ने चीन र रूसको आरोपलाई पूर्ण रूपमा आधारहीन भन्दै अस्वीकार गरेका छन् ।

क्योदो न्युजका अनुसार मे २१ मा आयोजित पत्रकार सम्मेलनमा जापानका उपमुख्य क्याबिनेट सचिव मसानाओ ओजाकीले चीनको सैन्य गतिविधि अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर चिन्ताको विषय बनेको बताएका थिए । रुसले युक्रेनविरुद्ध गरेको सैन्य कारबाही विश्व सुरक्षाका लागि खतरा भएको उल्लेख गर्दै उनले दुवै देशलाई आफ्नो व्यवहार परिवर्तन गर्न आग्रह गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको भेटपछि जारी संयुक्त वक्तव्यमा जापानले द्रुत रूपमा सैन्य शक्ति विस्तार गरिरहेको र त्यसले क्षेत्रीय शान्ति तथा स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको आरोप लगाएपछि जापानी अधिकारीको यस्तो प्रतिक्रिया आएको हो ।

Logo