काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव राख्दैछन्। संसद बैठक ११ बजे बस्नेछ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विधेयक पेश गर्नेछिन्। उनले ‘नेपाल विशेष सेवा ऐन, २०८२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र पेश गर्ने कार्यसूचि रहेको छ।
संसदको आजको कार्यसूचिमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ। यो प्रस्ताव श्रममन्त्री रामजी यादवले पेश गर्नेछन्।
यसैगरी आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८३’ लाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ। दोस्रो अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण महासन्धि १९४७ नम्बर–९ ८१० माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।






























