काठमाडौं । हस्पिटालिटी र टुरिजम शिक्षा क्षेत्रमा अग्रणी शैक्षिक संस्था ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी (बीपीएच) कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो ब्याचका स्नातक विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
सोमवार काठमाडौँको ताहाचलस्थित द सोल्टीमा आयोजित विशेष समारोहको औपचारिक उद्घाटन प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका डिन प्रा. डा. विजय के.सी., गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) खेमराज लकाई, सञ्चालक समितिका अध्यक्ष सुदर्शन चापागाईं, एशाेसिएट डिन/प्राेफेसर डा. रोशी लामिछानेले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। समारोहमा काठमाडौँ विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) रुरकीका प्रा. डा. सुबोध शर्माकाे विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेकाे थियाे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. विजय के.सी.ले हस्पिटालिटी क्षेत्रमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा गेट कलेजले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालको आर्थिक विकासमा पर्यटन र हस्पिटालिटी क्षेत्रको जग बलियो रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो प्राकृतिक सुन्दरता र संस्कृति त छँदैछ, तर नेपाल आउने पर्यटकहरूले सबैभन्दा बढी मन पराएको पक्ष यहाँका मानिसहरूको आतिथ्य सत्कार र मुस्कान हो।”
उनले स्नातक विद्यार्थीहरूलाई व्यावसायिक जीवनमा नैतिकता, सेवा भावना र नेतृत्व क्षमताका साथ अघि बढ्न व्यावसायिक सफलताको शुभकामना समेत व्यक्त गरे।

समारोहका विशिष्ट अतिथि प्रा.डा. सुबोध शर्माले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्रले रोजगारीको ढोका खोले पनि कार्यक्षेत्रमा ‘इमानदारिता र आत्मविश्वास’ नै सबैभन्दा ठूलो सम्पत्ति हुने बताए । वर्तमान समयमा एआई र डिजिटलाइजेसनको तीव्र विकास भइरहेको भए पनि आतिथ्य सत्कार जस्तो मानवीय भावना जोडिएको विधालाई प्रविधिले विस्थापित गर्न नसक्ने उनको भनाइ थियो।
उनले विद्यार्थीहरूलाई रोजगारी खोज्ने मात्र नभई नेपालकै प्राकृतिक स्रोत र सम्भावनालाई उपयोग गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने क्षमता राख्न प्रेरित गरे।
समारोहको मुख्य आकर्षणका रूपमा स्नातक विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो। विधागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई डा. जीवक राज बज्राचार्यले पदक, प्रमुख अतिथि प्रा. डा. विजय के.सी.ले प्रमाणपत्र, सहप्राध्यापक डा. रोशी लामिछानेले गुलाफको फूल तथा सहप्राध्यापक डा. खगेन्द्र आचार्यले ‘टोकन अफ लभ’ प्रदान गरी दीक्षित गरेका थिए।

कार्यक्रमको समापन गर्दै गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले आफ्नो २० वर्षअघिको शैक्षिक यात्रा र संघर्षको स्मरण गर्दै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यप्रति आभार व्यक्त गरे।
नेपाली आतिथ्य सत्कारको आफ्नै मौलिक ‘डीएनए’ रहेको चर्चा गर्दै उनले भने, “तपाईंको जीपीए कति आयो भन्ने कुराले भन्दा पनि तपाईं कस्तो मानिस हुनुहुन्छ र तपाईंको ऊर्जा कस्तो छ भन्ने कुराले व्यावसायिक जगत्मा फरक पार्छ।” नेपाली कलेजहरूमा ‘लर्न एण्ड अर्न’ अवधारणा भित्र्याएर विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन कलेज निरन्तर लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
नेपालको मौलिक पहिचान जोगाउनु नै पर्यटन विकासको मुख्य साँचो भएको उनको तर्क थियो। “हामीले हाम्रो नेवारी छोइला, मिथिला थाली, बटुक र सेलरोटी जस्ता रैथाने परिकारको रेसिपी र संस्कृति बिर्सियौं भने यहाँ कोही पर्यटक आउने छैनन्,” उनले भने, “हाम्रा पुर्खाहरूले जे निर्माण गरे, त्यसकै जगमा उभिएर अब हामीले देश बनाउने पालो आएको छ।”

अन्त्यमा, उनले स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना व्यक्त गरे ।
दीक्षान्त समारोहको अन्त्यमा दीक्षित विद्यार्थीहरू, प्राध्यापक र अतिथिहरूको सामूहिक तस्बिर सेसन लिइएको थियो। यस दीक्षान्त समारोहले गेट कलेजको बीएचएम पहिलो र दोस्रो ब्याचका विद्यार्थीहरूको शैक्षिक यात्रालाई औपचारिक रूपमा पूर्णता दिँदै उनीहरूलाई व्यावसायिक दुनियाँको नयाँ यात्रामा प्रवेश गराएको कलेज प्रशासनले जनाएको छ।






























