नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
जिल्लाका केही भू–भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसानले सिँचाई अभावमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ । समयमै वर्षा नहुँदा किसानले नेपालगन्ज, खजुरा क्षेत्रमा कम रोपाइँ गरेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिए । उनका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ अहिले पनि जारी छ ।
रोपाइँ भएकामध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने शर्माले बताए । “केही दिनपहिले वर्षा भएको थियो, तर त्यसपछि ठूलो वर्षा भएकै छैन,” उनले भने ।
उनका अनुसार जिल्लामा अधिकांशले किसानले राधा ४ मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।
ढिलो वर्षा भएका कारण रोपाइँ केही ढिलो भए पनि त्यहाँको चलनअनुसार हालसम्मको रोपाइँको अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँकेमा किसानले भदौ पहिलो सातासम्म धान रोपाइँ गर्दै आएको इतिहास छ ।
सिक्टा सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याड राखेका किसानले वर्षा हुनासाथ धान रोपाइँ गरेका छन् । हालसम्म जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको छ ।
खजुराका कृषक शरण कर्माचार्यले परम्परागत रुपमा ढिलो धान रोप्ने चलन भएका कारण पनि कतिपय स्थानमा खेतमा पानी भए पनि बीउ ठूलो नभएका कारण किसानले रोपाइँ गर्न नसकेको बताए ।






























