‘नाइमा मोबिलिटी एक्स्पो २०२६’मा ५३ ब्रान्ड सहभागी, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुने

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’मा ५३ ब्रान्ड सहभागी, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा यही साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ हुने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक गौरव शारडाले यस वर्षको प्रदर्शनीमा ५३ अटोमोबाइल ब्रान्ड सहभागी हुने र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने जानकारी दिएका हुन् ।

मुख्य प्रायोजक रेड बुल रहेको यस एक्स्पोलाई गत वर्षको तुलनामा अझ ठूलो, व्यवस्थित र प्रिमियम बनाइने आयोजकको दाबी छ । दर्शकको सहज आवतजावतका लागि हल–हल जोड्ने व्यवस्था, नेपाल प्रहरी क्लब परिसरमा दिनभर पार्किङ सुविधा, प्रवेश टिकटमा ५० प्रतिशतसम्म छुट तथा खानाका लागि फुड कोर्टको प्रबन्ध मिलाइएको छ । साथै, ‘पठाओ’ सँगको सहकार्यमा विशेष छुटसहितको सटल सेवा पनि उपलब्ध हुनेछ ।

प्रदर्शनीलाई केवल व्यापार मेलामा सीमित नराखी ज्ञानमूलक मञ्चका रूपमा विकास गर्न आयोजकले विशेष ‘लर्निङ सेसन’ को समेत व्यवस्था गरेको छ । ती सत्रमा अटोमोबाइल र प्रविधिमा मात्र नभई, नयाँ प्रविधि, नवप्रवर्तन तथा उद्योगको भावी दिशाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल गरिने संयोजक शारडाले बताए ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले छोटो अवधिमै संस्थाको सदस्य संख्या २१ बाट ३६ पुगेको उल्लेख गर्दै मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धिको महत्वपूर्ण आधार भएको बताइन् । नीति निर्माण, पूर्वाधार विकास तथा सहजीकरणमा सरकारको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सार्वजनिक–निजी सहकार्यको आवश्यकता औंल्याइन् ।

उनका अनुसार आगामी महिनादेखि ‘नाइमा मोबिलिटी जर्नल’ प्रकाशन सुरु गरिनेछ, जसमा नेपालको अटोमोबाइल तथा गतिशीलता क्षेत्रका नीति, प्रविधि र बजार गतिविधि समेटिनेछ । साथै, टिकट बिक्री आम्दानीको कम्तीमा १० प्रतिशत रकम गतिशीलता क्षेत्रको अनुसन्धान फेलोसिपमा खर्च गरिने घोषणा पनि गरियो ।

एक्स्पोमा चारपाङ्ग्रे सवारीतर्फ हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, ग्याक्सस, किया, निसान, बीवाइडी, ओमोडा एण्ड जेकु, एमजी, सिट्रोन, आइकार, हेन्सरी भोल्ट्स, फोर्थिङ, डेन्जा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर, वुलिङलगायत ब्रान्ड रहनेछन् । दुईपाङ्ग्रेतर्फ बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूजो, अल्ट्राभ्वाइलेट, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोलगायतको उपस्थिति हुनेछ । व्यावसायिक सवारीमा चेरी वान्डा, केरी, केयटन र स्काईवर्थ प्रदर्शनमा रहने जनाइएको छ ।

मेलाको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ भने डिजिटल मिडिया साझेदारका रूपमा डिजिपाल सोलुसन्स आबद्ध छ । आयोजकले नयाँ प्रविधि र विद्युतीय सवारीमैत्री उत्पादनमार्फत नेपाली अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरेको छ ।

Logo