काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको विधानमा परिमार्जन गर्दै पार्टी सभापतिलाई अभूतपूर्व शक्ति प्रदान गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीका तर्फबाट निर्वाचित प्रधानमन्त्री (वा संसदीय दलको नेता) ले सभापतिको निर्देशन पालना नगरेमा उनलाई पदबाट हटाउन सक्ने सम्मको अधिकार सभापतिमा निहित भएको खुलेको छ।
संशोधित विधानको दफा ११ (क) मा पार्टी सभापतिको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै भनिएको छ, ‘पार्टी सभापति संगठनको सर्वोच्च कार्यकारी प्रमुख, वैचारिक मार्गनिर्देशक र पार्टी एकताको प्रतीक हुनेछ।’
विशेष गरी, उक्त दफाको उपदफा अ (३) अन्तर्गत ‘संसदीय दलसँगको समन्वय’ उपशीर्षकमा रास्वपाले नयाँ प्रावधान थपेको छ। जसअनुसार यदि पार्टी सभापति आफैं संसदीय दलको नेता नरहेको अवस्था छ भने पनि संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोणको प्रभावकारी प्रतिनिधित्व र कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक नीतिगत मार्गनिर्देशन प्रदान गर्ने अधिकार सभापतिलाई हुनेछ। विधानले यो स्पष्ट पारेको छ कि सभापतिले दिएको यस्तो मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुनेछ।
विधानको दफा ६८ मा ‘संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याह्वान सम्बन्धी व्यवस्थाहरू’ उल्लेख गरिएको छ। उक्त दफाको उपदफा १ मा देहायका कुनै अवस्थामा संसदीय दलको नेताको पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ, जसमा उपदफा १ (ङ) मा भनिएको छ— ‘यस विधानको ११ (क) को अ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा।’






























