उपत्यकामा वर्षा, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

उपत्यकामा वर्षा, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भू–भागतर्फ सरदर आसपासमा अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारीसाधन चलाउँदा तथा पैदलयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे । “उपत्यकामा केही समय वर्षा हुने सम्भावना छ । सडक जलमग्न हुन सक्छन्, केही स्थानमा डुबानसमेत हुन सक्छ । त्यसैले यात्रु तथा सवारी चालकले सतर्कता अपनाउन आवश्यक छ,” उनले भने ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिन देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा भारी वर्षाको सम्भावना भने कम छ । “मनसुनी हावाको प्रभाव देशैभर छ । तर प्रणाली धेरै शक्तिशाली नभएकाले पहाडी भूभागका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्छ । धेरै आत्तिनुपर्ने अवस्था छैन, तर आवश्यक सतर्कता भने अपनाउनुपर्छ”, वरिष्ठ मौसमविद् अर्यालले भने ।

विभागका अनुसार हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बू र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Logo