लन्डन । स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्याङ्कर माथि “अज्ञात प्रहार” भएपछि आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले बताएको छ ।
संयुक्त राज्य अमेरिका र इरान बीच युद्धविराम र स्थायी शान्ति सम्झौता सुरक्षित गर्न जारी सम्झौता बाबजुद यो घटना हुदाँ विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमा अझै सरल आवागमन सम्भव नभएको जनाइएको छ ।
युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन (केएमटीओ)ले ओमानको लिमाहबाट आठ माइल पूर्वमा उक्त घटना भएको बताएको छ भने अर्को एउटा ट्याङ्करमा बन्दरगाह छेउमा अज्ञात प्रहार भए पछि आगो लागेको रपोर्ट गरिएको छ ।
एजेन्सीले हताहत वा वातावरणीय क्षतिको कुनै रिपोर्ट नभएको बताएको छ ।
जहाजहरूलाई सावधानीका साथ पारगमन गर्न र कुनै पनि संदिग्ध गतिविधिको बारेमा युकेएमटीओलाई रिपोर्ट गर्न सल्लाह दिएको जनाउँदै एजेन्सीले अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी एक्सियोसले सोमबार राति इरानले व्यापारिक जहाजहरूमा कम्तिमा दुईवटा मिसाइल प्रहार गरेको रिपोर्ट गरेको छ । -एएफपी






























