अर्जेन्टिना फुटबल संघमाथि छानबिन सुरु

अर्जेन्टिना फुटबल संघमाथि छानबिन सुरु

केन्द्रबिन्दु
1.37k
Shares

काठमाडाैं । विश्वकपको प्रिक्वाटरफाइनलमा इजिप्टविरुद्ध अर्जेन्टिनाले निकालेको विवादास्पद जितको चर्चा अझै सेलाउन नपाउँदै अर्जेन्टिना फुटबल संघमाथि छानबिन सुरु भएकाे छ ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले एफएको अमेरिकामा भइरहेको वित्तीय कारोबारमाथि गम्भीर छानबिन सुरु गरेको छ। स्राेतका अनुसार क्लौडियो तापियाको नेतृत्वमा रहेको अर्जेन्टिनी फुटबल संघमाथि शंकास्पद मनी लाउन्ड्रिङको आरोप लागेको छ। एफबीआईले एएफएले अमेरिकी वित्तीय प्रणालीमार्फत करोडौँ डलर कसरी प्रवाह गर्‍यो र ती कारोबारहरू अमेरिकी कानुनविपरीत छन् कि छैनन् भन्ने कोणबाट अनुसन्धान गरिरहेको छ।

यस अनुसन्धानको मुख्य केन्द्रमा फ्लोरिडास्थित ‘टुरप्रोडइन्टर एलएलसी’नामक कम्पनी रहेको छ, जसले विदेशमा एएफएको वित्तीय दायित्वहरू हेर्दै आएको छ। यो कम्पनीका मालिक रंगमञ्च व्यवसायी तथा ब्युनस आयर्सका पूर्व सांसद जाभियर फारोनी हुन्। एएफएको अन्तर्राष्ट्रिय व्यावसायिक अधिकार र प्रायोजनबापत संकलन भएको कम्तीमा २६ करोड अमेरिकी डलर यो कम्पनीमार्फत परिचालन भएको पाइएको छ।

बैंकिङ रेकर्डअनुसार सो रकममध्ये ठूलो हिस्सा संस्थाको वास्तविक सञ्चालन खर्चमा नदेखिएर प्राइभेट जेट, लक्जरी भिल्ला र महँगा गाडीहरूमा खर्च गरिएको छ। साथै, आर्थिक रूपमा कुनै औचित्य पुष्टि नहुने गरी करिब ५ करोड ७० लाख डलर विभिन्न कागजी (शेल) कम्पनीहरूमा ट्रान्सफर गरिएको भेटिएको छ ।

५८ वर्षीय एएफए अध्यक्ष क्लौडियो तापिया हाल चौतर्फी संकटमा घेरिएका छन्। विश्वकप अगाडि नै घरेलु लिगको संरचनामा गरिएका अलोकप्रिय परिवर्तन, भ्रष्टाचारका विभिन्न अनुसन्धान र कमजोर टोलीहरूसँगका मैत्रीपूर्ण खेलका कारण उनी देशभित्रै आलोचित बनिरहेका थिए।

Logo