जुम्ला ,१२, मंशिर
बिहानै घरको चाँजोपाँजो मिलाएर उनी हतार गर्दै मतदान केन्द्रमा पुगिन् । कात्तिकस्वामी विद्यालयको मतदान केन्द्रमा पुग्दा लाइन लागिसकेको थियो । करिब एक घण्टा लाइनमा कुरेपछि उनको पालो आयो । मतपत्रमा छाप लगाएर बाकसमा खसाल्दै गर्दा उनले भनिन्, ‘घरको सबै काम छोडेर पनि भोट दिएकी छु । अब मेरा पति घर फर्काइ दिनुहोला ।’ चन्दननाथ नगरपालिकाको सिलामकी ४६ वर्षिया राधिका कुँवरको यो आग्रहलाई गहिरिएर कसैले सुनेनन् । मतदानस्थलबाट बाहिरिए पछि उनी हतारहतार घर तर्फ जान खोज्दै थिइन् । आर्थिक अवस्था कमजोर भएको र गाउँमै रोजगारी नहुँदा उनका पति भक्त कुँवर कमाउनका लागि भारत गएका छन् । उनी चाडपर्वको बेला मात्र घर आउँछन् । बाँकी समय परदेशमै बित्छ । राधिकाले भनिन्, ‘मैले धेरै पटक भोट दिएँ । तर त्यसको बदलामा केही पाइँन । पुरुषले गाउँमा गरि खाने वातावरण नै छैन । यसपालिको चुनाव जित्नेले मेरा श्रीमानलाई भारतबाट फर्काएर गाउँमै बसाल्न सकुन् ।’
महत गाउँ स्थित मतदान केन्द्रमा भोट हाल्न पुगेकी ५२ वर्षिया गोरीकला विकलाई भोट किन हाल्दैछु भन्ने थाहा थिएन । देशको राजनीतिक परिवर्तनसँग खासै जानकार नभएकी उनी मतदान गरेर बाहिरिइन् । ‘अब गाउँमै सरकार आउँछ भन्छन् । नेताले छुट्टै राज्य बनाउने हो भन्थे’ उनले भनिन्, ‘हाम्रा दिन जस्ताका त्यस्तै छन् । घरमै बसे खान पुग्दैन । घरखर्च जुटाउनकै लागि श्रीमान् भारतमा छन्, अब उनलाई गाउँमा कसले फर्काइदिन्छ ?’
अन्नपूर्णबाट





























प्रतिक्रिया