विश्वकपमा चम्किएका कप्तान, एमबाप्पे

विश्वकपमा चम्किएका कप्तान, एमबाप्पे

केन्द्रबिन्दु
6
Shares

फक्सबर्ग । केलियन एमबाप्पेमाथि लाग्ने गरेको एउटा ठूलै आरोप हो। उनी टिम खेलाडी होइनन्, व्यक्तिगत प्रदर्शनमा जोड दिएर खेल्छन्। अहिले फ्रान्स उनकै नेतृत्वमा खेलिरहेको छ र तेस्रोपल्ट विश्वकप जित्न सक्ने बलियो प्रत्याशी टिम बनेको छ। रियल म्याड्रिडका लागि यी २७ वर्षीय खेलाडीको पछिल्लो सिजन राम्रो रहेन, क्लबले समर्थक उनका आलोचक भएर निस्केका थिए।

उनले रियलका लागि बिताएका पछिल्ला दुई सिजनमा ८६ गोल गरिसके, तर यो पनि रियललाई कुनै ठूलो उपाधि दिलाउन पर्याप्त रहेन। सन् २०२४ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी रियल गएका थिए। त्यहाँ छँदा उनी क्लब इतिहासकै सर्वाधिक गोलकर्ता बने, तर पीएसजीले युरोपेली च्याम्पियन्स लिग जित्ने सपना पूरा गर्न सकेन।

संयोग नै मान्नुपर्छ, एमबाप्पेले के एकपल्ट पीएसजी छाडे, क्लबले लगातार दुईपल्ट च्याम्पियन्स लिगको उपाधि हात पारेको छ। तर विश्वकपसँग भने उनको मीठो सम्बन्ध छ र सम्भवतः उनको अहिलेसम्मको खेल जीवनलाई आकार दिएको भनेकै यही विश्वकपले हो।

अहिले अमेरिकामा चलिरहेको विश्वकपमा कोही एक खेलाडीले सबैलाई प्रभावित पारेको छ भने त्यसमा उनको नाम पनि आउने गर्छ। एमबाप्पेले अहिलेसम्म ७ गोल गरिरहेका छन्। बिहीबार फ्रान्सले मोरक्कोविरुद्ध क्वाटरफाइनलमा सामना गर्दा उनको उद्देश्य आफ्नो गोलसंख्या बढाउनु नै हुनेछ। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी उदीयमान खेलाडी थिए। त्यसको चार वर्षको विश्वकपमा उनले फाइनलमा ह्याट्रिक गरे, तर च्याम्पियन भने अर्जेन्टिना रह्यो। तिनै एमबाप्पे अहिले फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी भइसकेका छन्।

अहिलेको विश्वकपमा अर्जेन्टिनी लियोनल मेसीलाई गोल्डेन बुट अवार्डमा सबैभन्दा बढी चुनौती दिनसक्नेमा एमबाप्पे पनि एक हुन्। एमबाप्पेले पछिल्लो पटक मिडियासँग भनेका छन्, ‘मलाई थाहा छ, सबैको ध्यान तथ्यांकमै छ। सबैले गोलकै मात्र कुरा गरिरहेका छन् तर अहिले मेरो ध्यान भने त्यसतर्फ छैन। म चाहन्छु, फ्रान्सले जुलाई १९ मा हुने फाइनल खेलोस्।’

पछिल्लो समय पाराग्वेली राजनीतिज्ञ क्लेस्टे आमरिलाले लगाएको आरोपलाई लिएर पनि उनी चर्चामा रहे। यही प्रसंगमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसमेत एमबाप्पेको समर्थनमा ओर्लिए। एमबाप्पेलाई लिएर प्रशिक्षक डिडियर डेसच्याम्पले भनेका छन्, ‘एमबापे असाधारण खेलाडी हुन्। उनको बाहिरी छवि जुन बनेको छ, त्यसमा सत्यता छैन। उनले खेल्ने भनेकै टिमका लागि हो।’ एएफपीबाट

Logo