बाढी र पहिरोले तमोर करिडोर सहित सडकहरु अवरुद्ध

बाढी र पहिरोले तमोर करिडोर सहित सडकहरु अवरुद्ध

केन्द्रबिन्दु
6
Shares

पाँचथर । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अवरुद्ध भएको छ । धनकुटा र पाँचथरको सिमानामा बग्ने नावा खोलामा बाढीले पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो सडकले सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्छ । एका बिहानै सडक अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचबाट धरान र विराटनगर तथा विराटनगर र धरान हुँदै पहाडका जिल्लासम्मको यात्रामा निस्केका सवारी र ढुवानी साधन बाटैमा अलपत्र परेका छन् ।

पानीको बहाव अत्यधिक रहेकाले यात्रु तथा सवारी साधनलाई जोखिम नमोल्न पाँचथर प्रशासनले आग्रह गरेको छ । यस्तै बाढी र पहिरोका कारण पाँचथर जिल्लाको सदरमुकाम फिदिमलाई गाउँपालिका केन्द्र र ग्रामिण वजारसम्म जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् ।

मुवा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याउँदा फिदिम फालौट सडक अवरुद्ध भएको छ भने मध्यपहाडी राजमार्गको थर्पु च्याङथापु सडक खण्ड पनि अवरुद्ध छ । पानी निरन्तर परिरहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले नागरिकलाई सचेत गराएको छ ।

यता निरन्तरको झरीले मेची राजमार्गस्थित इलामको राजदुवाली खण्डमा सडक भासिएको छ । यसअघि नै जोखिममा रहेको यो सडक थप भासिएपछि यातायात र ढुवानीका साधन आवागमन ठप्प भएको छ । झरी निरन्तर रहेका कारण ग्रामिण सडकहरु पनि अवरुद्व भएका छन् ।

Logo