काठमाडौं । बजारमा खसीको मासुको भाउ अचाक्ली बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी थालेको छ ।
पछिल्लो केही समयदेखि काठमाडौँमा खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्म पुर्याइएको र व्यापारीहरूले अभावको कृत्रिम बहाना बनाएको जनगुनासो आएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो तयारी गरेको हो ।
खासगरी बर्डफ्लुको डरका कारण कुखुराको मासुको विकल्पमा खसीको मासुको माग बढेको मौका छोपी व्यापारीहरूले प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् । अझ केही मासु पसलले खसी पाउन छाडेको बताइरहेका छन् ।
यसैबीच, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजार मूल्यमा भएको वृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । मन्त्री चौधरीको सचिवालयका अनुसार मन्त्रालयले बजारको वास्तविक मूल्य र अवस्थाको विस्तृत तथ्याङ्क संकलन गरिसकेको छ ।






























