कैलाली । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
प्रहरी स्रोतका अनुसार चौधरीमाथि प्रधानमन्त्रीको नाम जोडेर दिएको अभिव्यक्तिबारे मात्र होइन, कार्यशैली र विगतका गतिविधिसम्बन्धी विभिन्न उजुरीका आधारमा सोधपुछ सुरु गरिएको हो।
डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै भनेका थिए, ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो।’
यो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भएको थियो। सोही कार्यक्रममा उनले आफूहरू कुनै राजनीतिक दल वा नेताको प्रभावमा नभएको भन्दै जनप्रतिनिधिप्रति पनि टिप्पणी गरेका थिए। ती अभिव्यक्तिलाई लिएर समेत प्रश्न उठेको छ। यस्ता सन्दर्भ र अभिव्यक्तिको आशय बुझ्न पनि उनलाई जिल्ला झिकाइएको प्रहरीले जनाएको छ।
उच्च प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध स्थानीय तहदेखि केन्द्रसम्मबाट विभिन्न गुनासा र उजुरी प्राप्त भएका छन्। ती उजुरीमा कार्यशैली, अनुशासन तथा जिम्मेवारी निर्वाहसँग सम्बन्धित विषय समेटिएको बताइएको छ। प्रहरी नेतृत्वले आवश्यक परामर्श तथा छानबिनका लागि उनलाई जिल्ला बोलाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीसँग सोधपुछ गर्नेछन् । स्रोतका अनुसार उनीमाथि यसअघि पनि संगठनको नीति–निर्देशन पालना नगरेको विषयमा स्पष्टीकरण सोधिएको थियो।
यस्तै, आफैँ बजारमा पुगेर सामान जफत गर्ने र पछि फिर्ता गरेको आरोपसमेत उनीमाथि लागेको बताइएको छ। केन्द्रबाट प्राप्त अन्य उजुरी तथा केही भिडियो सामग्रीबारे पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त पत्रका आधारमा चौधरीका पछिल्ला अभिव्यक्ति र गतिविधिबारे जिल्ला प्रहरीले थप छानबिन अघि बढाएको जनाएको छ। एसपी चन्दले पछिल्लो भिडियोको विषयमा मात्रै नभई अघिल्ला गतिविधि तथा अभिव्यक्तिबारे पनि सोधपुछ गर्न चौधरीलाई जिल्ला बोलाइएको बताए।






























