काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जसको कारण देशभर अधिकांश बादल लागेको छ भने विभिन्न ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशका तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशभर सतर्क रहन अनुरोध पनि गरेको छ ।






























