आत्मदाहको प्रयास गरेका गणेशलाई उपचारका लागि भारत लैजाने तयारी, सम्पूर्ण खर्च सरकारले बेहोर्ने

आत्मदाहको प्रयास गरेका गणेशलाई उपचारका लागि भारत लैजाने तयारी, सम्पूर्ण खर्च सरकारले बेहोर्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । त्रिपुरेश्वरको राहदानी विभागअघि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मध्यरातमा गृहमन्त्री सुधन गुरुङ उपचार भइरहेको वीर अस्पतालमै पुगेको तस्वीर सरकारका प्रवक्ताले सञ्चारकर्मीहरूलाई ह्वाट्सएपमार्फत पठाएका थिए । जसमा गृहमन्त्रीका अलावा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू पनि अस्पताल पुगेर घाइतेको पछिल्लो अवस्थाबारे बुझेको उल्लेख गरिएको छ ।

उक्त सूचनामा गणेशलाई उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको उल्लेख गरिएको छ । गृहमन्त्रीसहितको टोलीले चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशनसमेत दिएको छ ।

सरकारका प्रवक्ताले पत्रकारहरूलाई पठाएको ह्वाट्सएप सूचनामा प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा नेपालीलाई थप उपचारका लागि भारत लैजाने सम्पूर्ण प्रक्रिया अघि बढाइएको समेत उल्लेख छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे ।उनले शुक्रबार मध्यान्हमा त्रिपुरेश्वरस्थित राहदानी विभाग अघि आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर आत्मदाहको प्रयास गरेका थिए । आफुले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनी वादविवादमा उत्रिएको र त्यसपछि आत्मदाहको प्रयास गरेको बुझिएको छ ।

Logo