यूएई पढ्न पठाउने नाममा विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएई पढ्न पठाउने नाममा विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न कलेजमा अध्ययन गर्न पठाई नेपाली विद्यार्थीहरूलाई ठगी गरेको अभियोगमा प्रहरीले ९ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गरी बसेका उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा डिल्लीबजारस्थित ‘इड्युपोर्ट प्रालि’ का सञ्चालकहरू ४० वर्षीय रूपक कोइराला, ३७ वर्षीय राजेश भण्डारी र ३७ वर्षीय सन्तोष खतिवडा रहेका छन्।

यसैगरी पुतलीसडकस्थित ‘वेस्टफोर्ड एजुकेसन प्रालि’ का सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) तथा बानेश्वरस्थित ‘प्रोप एभिएसन प्रालि’ का सञ्चालकहरू ३८ वर्षीय सुरेन्द्र महर्जन, ३५ वर्षीय दिवस पोखरेल, २६ वर्षीय मनित आचार्य र ३९ वर्षीय शेखर पाण्डे पनि पक्राउ परेका छन्। कालिमाटीस्थित ‘एस्पायर ग्लोबल प्रालि’ का सञ्चालक २७ वर्षीय विशाल चापागाईंलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको निकाय एमओएचईएसआर/कमिसन फर एकेडेमिक एक्रेडिटेसन (सीएए) बाट स्वीकृति नलिएका कलेजहरूमा विद्यार्थी पठाउने गरेको पाइएको छ।

ती कलेजहरूमा अध्ययन गरेपछि फ्रान्स तथा अस्ट्रेलिया लगायतका देशका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेजमा ‘क्रेडिट ट्रान्सफर’ समेत हुने भन्दै उनीहरूले विद्यार्थीलाई झुक्यानमा पारेका थिए।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। पक्राउ परेका सबै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ।

Logo