काठमाडौं,मंसिर, १०
आसन्न आम निर्वाचनलाई लिएर यहाँ शान्ति, सुव्यवस्था कायम गर्न बहालवाला प्रहरीले म्यादी प्रहरीका साथमा घरेलु मदिरा नष्ट गरिरहेको छ । जनसेवा प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको म्यादी प्रहरी र हवल्दार जालन्धरप्रसाद यादव, प्रहरी डिल्ली बहादुर भण्डारी सहितको विशेष सुराकी टोलीले टेबहालको एक भट्टीबाट शनिबार डेढ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
यो टोलीले लायकू साः, झोछो, यट्खा लगायत काठमाडौँको भित्री शहरका भट्टीबाट पनि ठूलो परिमाणमा मदिरा नष्ट गरेको छ । बौद्ध लगायतका क्षेत्रमा भइरहेको यो कारबाही पछि यहाँ मदिरा भन्दा गँजडीको सङ्ख्या बढिरहेको गौशाला प्रहरी प्रभागका प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकार बताउँछन् । उनका अनुसार पशुपति क्षेत्र, गौशाला, जयबागेश्वरी लगायतका क्षेत्रमा घरेलु मदिरा विरुद्धको कारबाही सफलतातर्फ उन्मुख भइरहेको बेला जँड्याहाहरू गाँजा सेवनतर्फ लागेका छन् । अब गाँजाको कारोबार र गँजडी माथि पनि प्रहरी कारबाही थालिएको छ । कानुन अनुसार मदिरा बेच्न पाउनेले पनि मर्यादा भित्र रहेर मात्र पसल सञ्चालन गर्न भनिएको छ । अहिले राति ९ बजेपछि कुनै पनि मदिरा पसल चालू गर्न नपाइने व्यवस्था छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया