हिमालय कलेज अफ इन्जिनियरिङद्वारा ‘हिमालय एक्जिबिसन २०२६’ भव्य रूपमा सम्पन्न

हिमालय कलेज अफ इन्जिनियरिङद्वारा ‘हिमालय एक्जिबिसन २०२६’ भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा ‘हिमालय एक्जिबिसन २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।

विद्यार्थीहरूले तयार पारेका विभिन्न इन्जिनियरिङ परियोजना, प्रोटोटाइप, अनुसन्धान तथा नवप्रवर्तनात्मक सिर्जनाहरूलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमस २ दिन चलेकाे थियाे । पहिलाे दिन शुक्रबार त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई)का डीन प्रा. डा. सुशिल बहादुर बज्राचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो। विविध कारण केही वर्ष रोकिन पुगेको यो ऐतिहासिक प्रदर्शनी सन् २०२३ पछि पहिलो पटक भव्य रूपमा पुन: सञ्चालनमा ल्याइएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा आईओईका डीन प्रा. डा. सुशिल बहादुर बज्राचार्यले यस्ता प्रदर्शनीले विद्यार्थीमा प्रस्तुतीकरण क्षमता, नेतृत्व, उद्यमशीलता र टोलीमा काम गर्ने संस्कृतिको विकास गर्ने बताए । उनले भविष्यमा एक्जिबिसनलाई शैक्षिक पात्रो कै हिस्सा बनाउनुपर्ने धारणा पनि राखे ।

उनले भने, “एक्जिबिसन विद्यार्थीहरूको व्यवहारिक सिकाइको उत्कृष्ट माध्यम हो। यसले उनीहरूको नेतृत्व, उद्यमशीलता र सिर्जनशीलता विकास गर्छ उनले भने, त्यसैले यस्ता कार्यक्रमलाई शैक्षिक गतिविधिकै अभिन्न अङ्गका रूपमा संस्थागत गर्न आवश्यक छ ।”

यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका भाइस प्रिन्सिपल तथा इभेन्ट डाइरेक्टर अशोक जीएमले कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीलाई व्यवहारिक अनुभव दिलाउन यस्ता प्रदर्शनी नियमित रूपमा आयोजना गर्दै आएको बताए । कोभिडका कारण केही वर्ष रोकिएको कार्यक्रम पुनः निरन्तरता पाएको उल्लेख गर्दै आगामी वर्षहरूमा यसलाई अझ परिष्कृत बनाइने बताए ।

उनले भने, “हामीले २०१७ मा गर्‍यौँ, २०१८ मा गर्‍यौँ, पछि केही कोभिडले गर्दाखेरि केही डिस्टर्बेन्स भयो। फेरि हामी २०२३ मा गर्‍यौँ ।तर, त्यसपछि फेरि हाम्रो जुन क्ष्इभ् को जुन करिकुलमको अलिकति व्यस्तताले गर्दाखेरि हामी त्यसलाई चाहिँ कन्टिन्यु गर्न सकेका थिएनौँ । आज २०२६ मा आएर त्यसलाई फेरि पुनः सुचारु गरेका छौँ । साथै उनले थपे “विद्यार्थीहरूले सिकेको प्रायोगिक ज्ञानलाई परियोजना र मोडेलमार्फत प्रस्तुत गर्ने यो प्रदर्शनी आयोजना गरिएको हो ।आगन्तुकहरूले परियोजनाको अवलोकन गरी सुझाव दिनुभयो भने विद्यार्थीहरूको सिकाइ अझ प्रभावकारी हुनेछ ।”

यस वर्षको प्रदर्शनीलाई कलेजका विभिन्न विद्यार्थी क्लबहरू आस्था क्लब, हिमालय आईटी क्लब, रोबोटिक्स क्लब, सिभिल क्लब र कम्प्युटर क्लबको संयुक्त पहलमा उत्कृष्ट रूपमा व्यवस्थापन गरिएको थियो। प्रदर्शनीमा रोबो वार्स, सिभिल मोडेल, गेमिङ र फुड स्टलहरू राखिएका थिए। विशेष गरी सीएसआईटी विभाग अन्तर्गतको हिमालय आईटी क्लबले सफ्टवेयर र हार्डवेयर दुवैलाई एकीकृत गरेर बनाइएका थुप्रै नवीन परियोजनाहरू प्रदर्शनमा राखेको थियो। जसमा प्रविधिको पछिल्लो ट्रेन्डलाई समेट्दै ‘मिम डिटेक्सन च्यालेन्ज’ जस्ता आकर्षणहरू समावेश थिए।

प्रदर्शनीमा सहभागी बीएस्सीसीएसआईटी छैटौँ सेमेष्टरकी छात्रा निहा अधिकारीले आफ्नो अनुभव साट्दै भनिन्, “म छैटौँ सेमेष्टरमा अध्ययनरत भए पनि कोभिड र अन्य कारणले गर्दा पहिलो पटक ‘हेक्स’अनुभव गरिरहेकी छु। यहाँ हामीले केवल सैद्धान्तिक ज्ञान मात्र होइन, प्राक्टिकल नलेजलाई कसरी रियल-लाइफमा इम्प्लिमेन्ट (कार्यान्वयन) गर्ने भन्ने सिकेका छौँ। विभिन्न मोडेल र इनोभेटिभ प्रोजेक्टहरू सोकेस गर्न पाउँदा हामी निकै उत्साहित छौँ।”

विभिन्न इन्जिनियरिङ कलेजका प्रिन्सिपलहरू, विधागत विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आगन्तुकहरूलाई विद्यार्थीहरूसँग अन्तर्क्रिया गरी उनीहरूका नवप्रवर्तनात्मक सोचलाई रचनात्मक सुझाव प्रदान गर्न आग्रह गरिएको थियो ।

Logo