जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान अन्दाजी ०६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर सवार प्रदेश २-०२-००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालकसहित त्यसमा सवार ५ जना र उपमेयर सवार गाडीका ३ जना गरी कुल ८ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






























