बझाङ । बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
चालक देवबहादुर धामीले चलाएको उक्त जिप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्गाथली-६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली-६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ-७ की बिमला महत धामी रहेका छन् ।
दुर्घटनामा घाइतेमध्ये ८ जना सख्त घाइते छन् । जसमा दुई शिक्षक र एक पूर्ववडा सदस्य समेत छन् । सख्त घाइतेहरुमा जिप चालक देवबहादुर धामी, झल्कादेवी महत, जयमतीदेवी महत, हासुलीदेवी महत, शिक्षक रामबहादुर महत, हर्कादेवी महत, शिक्षक देवबहादुर जाग्री र पूर्ववडा सदस्य रामबहादुर महत रहेका छन् । सामान्य घाइते हुनेमा धनेशेर जाग्री, नवराज धामी, रमेश धामी र बिरु जाग्री रहेको डीएसपी टेकबहादुर जोराले जानकारी दिएका छन् ।






























